Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

घरपिच्छे झाडापखालाको सक्रमण, बिरामीको संख्या १२ सय नाघ्यो

दाङ जेठ १४ । जिल्लाको शान्तिनगर गाउँपालिकाका दुई वडाका घरपिच्छे झाडापखालाका बिरामी छन् ।

मुहानको दूषित पानीले शनिबारबाट फैलिएको प्रकोप आइतबार साँझसम्म नियन्त्रणमा आएको छैन ।

बिरामी संख्या बढदै गएपछि गाउँले आतंकित छन् । स्थानीय स्वास्थ्यचौकीका अनुसार आइतबार साँझसम्म बिरामीको संख्या १ हजार २ सय २१ पुगेको छ ।

शनिबार रातिसम्म ४ सय १९ बिरामी रहेकामा आइतबार ८ सय २ जना थपिएको जानकारी शान्तिनगर स्वास्थ्यचौकी प्रमुख हरि पुनले दिए ।

रातिसम्म पनि बिरामी आउने क्रम जारी रहेकाले संख्या अझै बढ्ने अनुमान उनले गरे । ‘शनिबार बिहानदेखि आइतबार राति २ बजेसम्म लगातार बिरामी आए,’ उनले भने, ‘फेरि बिहान ४ बजेदेखि बिरामीको भीड लाग्न थाल्यो ।’

उपचारपछि घर फर्केका ३० जना आइतबार फेरि बिरामी भएर स्वास्थ्यचौकी आएको पुनले बताए ।

‘घर फर्केर फेरि प्रदूषित पानी नै पिएपछि उनीहरू बिरामी परेका छन् । दूषित पानी पिउन नछाडदा संख्या बढदै गएको हो,’ उनले भने, ‘खानेपानी आयोजनाका सबै उपभोक्ता बिरामी भएका छन् । प्रत्येक घरमा बिरामी छन् ।’

पुनका अनुसार तीनवटा एम्बुलेन्सले निरन्तर बिरामी ओसारिरहेका छन् ।

स्थानीय बीपी कोइराला मावि र हुमाचन्द्र बोर्डिङ स्कुल दुई दिनका लागि बन्द गरिएको छ ।

अधिकांश महिला र बालबालिका बिरामी छन् । शान्तिनगर–३ पातेटाकुराकी ४७ वर्षीया डिला चन्दको अवस्था गम्भीर भएपछि उनलाई नेपालगन्ज रेफर गरिएको छ ।

अन्यको स्वास्थ्यचौकीमा चलाइएको आकस्मिक शिविरमा उपचार भइरहेको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: