धनगढी गोली काण्डः प्रहरी नियन्त्रणमा रहेका दुई जना हाजिर हुने गरी छाडिए

धनगढी, जेठ १४ । निर्मल कार्कीलाई गोली प्रहार गरी लुटपाट गरेको आशंकामा प्रहरी नियन्त्रणमा रहेका दुई जना रिहा भएका छन् ।

चाहेको अवस्थामा हाजिर हुने गरी दुवै जनालाई आइतबार राती नै छाडिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घटनामा संग्लन भएको शंकामा प्रहरीले उनीहरुलाई हिजो धनगढीबाट नै नियन्त्रणमा लिएको थियो ।

उनीहरुको साथबाट प्रहरीले नौं लाख रुपैयाँसमेत बरामत गरेको थियो ।

उक्त बरामत रकम लुटिएको हो या होइन भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए ।

बरामत नौ लाख रुपैयाँ भने प्रहरीको नियन्त्रणमा रहेको उनले बताए ।

यस्तै, घटनामा आवद्ध व्यक्तिबाट गोली लागेर घाइते कार्कीको अवस्था खतरामुक्त रहेको छ ।

अहिले उनको धनगढी स्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । कार्कीकाे पाखुरामा दुई गोली लाग्नुको साथै छातीमा पनि चोट लागेको छ ।

दाहिने पाखुरा समेत भाँचिएको उनको पाखुराबाट दुई ओटा गोली निकालिएको अस्पतालका वरिष्ठ सर्जन डाक्टर विसनसिंह बोहराले जानकारी दिए ।

आईएमईमा कार्यरत घाइते कार्की आईएमईको लागि हरेक दिन बिहान बैंकमा पैसा लिन जाने काम गर्दै आएका थिए ।

आइतबार पनि सिद्धार्थ बैंकबाट पैसा लिएर फर्किदै गर्दा उनलाई धनगढीको चौराहास्थित क्रिष्टल होटलको अगाडि मूल सडकमै अज्ञात समूहले बिहान १० बजे गोली हानेको थियो ।

साथै बैंकबाट झिकिएको ९ लाख ५० हजार रुपैया लुटेराहरुले लुटेर लगेका थिए ।

कमेन्ट गर्नुहोस्