सभाखोला–हिले सडकखण्डको यस्तो छ दुर्गति

संखुवासभा । धुपुकी मालती भट्टराईलाई सभाखोलाबाट धनकुटाको हिलेसम्म यात्रा गर्न ५ घण्टा लाग्यो ।

पानी परेकाले सडक हिलाम्मे हुँदा ५२ किमि यात्रा सकस पूर्ण भयो । हिलोमा गाडीका चक्का चिप्लिएर धेरै ठाउँमा ठेल्नुपरेको उनले सुनाइन् ।

दुई दिनपछि उनी फर्किंदा हिलाम्मे सडक धुलाम्मे भइसकेको थियो । धनकुटा पुग्दा हिलैहिलो भएकी मालती फर्किंदा धूलोले पुरिइन् । जाँदा हिलोमा गाडी ठेल्दै गयौं, उनले भनिन्, ‘दुई दिनपछि फर्किंदा सडकको हिलो सुकेर धुलाम्मे भइसकेको रहेछ, एकपटक झुक्किएँ ।’

दुई दिनसम्म लागेको घामले हिलो सुकेर धुलाम्मे भएको रहेछ । धूलो सडकमा यात्रु गर्दा पनि हिलेबाट सभा आइपुग्न ५ घण्टा लागेको उनले बताइन् । खाँदबारीको सभाखोलाबाट धनकुटाको हिले यात्रा गर्ने यात्रुले सधैं यस्तै सकस पूर्ण यात्रा गर्नु परिरहेको छ ।

खाँदबारीबाट धनकुटाको हिलेसम्म यात्रा गर्ने यात्रु घामलाग्दा धुलाम्मे हुने र एकै छिन पानी पर्दा गाडी फस्ने सम्स्याबाट पीडित हुन्छन् । यो खण्डमा ३ फुट गहिरोसम्म धूलो हुन्छ । पानी परेका बेला हिलाम्मे भएपछि यातायातका साधन चिप्लिएर दुर्घटना हुने सम्भावना हुन्छ भने हिउँदमा पनि धूलोमा फोर ह्विल भएको गाडीसमेत भासिन्छ ।

‘सडक धुलाम्मे भएका कारण यात्रुहरू गन्तव्यमा चाँडो पुग्न सक्दैनन्,’ खाँदबारीका लेखनाथ बुढाथोकीले भने, ‘जहाज पनि नियमित चल्दैन, यो बाटो भएर धरानसम्म पुग्दा धूलोका कारण बिरामी नै भइन्छ।’ सभाखोलाबाट धूलो खाँदै हिलेसम्म पुग्नु परेको उनले बताए । धेरै धूलो भएको स्थानमा पानी लगाउनुपर्ने यात्रुको सुझाव छ। पहाड काटेर सडक फाराकिलो बनाउने क्रममा निस्किएको धूलोलाई व्यवस्थित नगर्दा समस्या भएको हो।

‘सभाखोलाबाट केवासम्म २ फिट बढी धूलो छ, गाडी क्रस हुने बेलामा धूलोले बाटै देखिँदैन,’ उनले भने, ‘साँघुरो सडकका कारण पनि समस्या छ ।’ केवाबाट हिलेसम्मको सडकको स्तरोन्नतिका लागि काम भए पनि सुस्त छ । धुलाम्मे बाटोमा फोरह्वील नलगाए गाडी नगुड्ने समस्या पनि उस्तै छ । सभाखोला–हिले खण्डमा जिप चलाइरहेका चालक खड्ग विक भन्छन्, ‘यो सडकमा फोरह्वील नभए धूलोमा गाडी फस्छ निकाल्न सकिँदैन।’ धूलो कति फिट तलसम्म छ थाहा नहुँदा गाडी ढुंगामा ठोक्किएर बिग्रने गरेको उनले बताए । धनकुटाको लेगुवाबाट संखुवासभाको सभाखोलासम्म तुम्लिङटार सडक डिभिजन कार्यालयले सडकको स्तरोन्नति सुरु गरेको छ ।

गतवर्षको भदौ पहिलो साताबाट यो खण्डमा धमाधम काम भइरहेको भए पनि धूलो भने घटेको छैन । कामको ठेक्का पाएको रौताहा सन्तोषी जेभीले सडक चौडा पार्ने काम र भीरमा तारजालीको पर्खाल लगाइरहेको छ। ठेकेदार कम्पनीले २०७६ सम्ममा सडकको स्तरोन्नति गरिसक्नुपर्ने उल्लेख भएअनुसार काम भइरहेको जनाएको छ। कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्