घर परिवारबाटै महिनावारी छुवाछुत अन्त्य गर्न मन्त्री बिना मगरको आह्वान

काठमाडौं, जेठ१४ । खानेपानी मन्त्री बिना मगरले घर परिवारबाटै महिनावारी छुवाछुतको अन्त्य गर्न आव्हान गर्नुभएको छ ।

राष्ट्रिय मर्यादित महिनावारी दिवस–२०७५ तथा अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस २०१८ को अवसरमा वाटर एडले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले महिनावारी हुँदा छुवाछुत गर्ने समस्या देशैभरि रहेकाले घर परिवारबाटै यसको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

‘महिनावारी हुँदा छुवाछुत गर्ने प्रथा महिलाका लागि अभिसाप हो । छाउपडी प्रथाका नाममा महिलाहरू सामाजिक विकृतिको शिकार भएका छन्,’ मन्त्री मगरले भन्नुभयो, ‘सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा छाउगोठमा राख्ने प्रथा भएपनि भान्सा छुन नदिने, पानी छुन नदिने, दाजुभाई छुन नदिने समस्या देशैभरि रहेको छ । तसर्थ, हाम्रै घरपरिवारबाट यसको अन्त्य गर्नुपर्छ ।’

महिनावारी हुँदा हुने छुवाछुत कुसंस्कार अन्त्य गर्न सरकार र सामाजिक संघसंस्थाले सामुहिक रुपमा नतिजा दिन सक्ने गरी काम गर्नुपर्ने उहाँले बताउनुभयो । ‘हामी महिनावारी स्वच्छता र छुवाछुत अन्त्यका लागि विभिन्न कार्यक्रम गरिरहेका छौं ।

हाम्रा आवाज लक्षित ठाउँसम्म पुग्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘त्यही उद्देश्यले सरकारले राष्ट्रिय स्तरबाटै मर्यादित महिनावारी दिवस मनाउन सुरु गरेको छ ।’ खानेपानी मन्त्री बिना मगरको सक्रियतामा खानेपानी मन्त्रालयले यस वर्षदेखि राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाउन सुरु गरेको छ ।

‘महिनावारीलाई धर्म र संस्कारसँग जोडिएकाले समाजका नियम परिवर्तन गर्न चुनौतिपूर्ण छ, कतै देउता रिसाउने हुन् कि भन्ने सोच आउँछ,’ मन्त्री मगरले भन्नुभयो, ‘हामीले महिनावारीलाई धर्म र संस्कारबाट अलग गरेर प्राकृतिक नियमका रुपमा ब्याख्या गर्नुपर्छ ।’

छोरा परिपक्व भएपछि तामझामका साथ ब्रतबन्ध गरेर विवाह गर्ने स्वीकृति प्रदान गरिएझै छोरीले महिनावारी भएर प्रजनन् कार्यका लागि प्राकृतिक रुपमै स्वीकृति पाएकाले महिनावारी अछुतो नहुने मन्त्री मगरले बताउनुभयो ।

‘छोरी महिनावारी हुँदा सम्मान र भोजभतेर गरेर उत्सवका रुपमा मनाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘यसका लागि हामी सबैले सामुहिक प्रतिवद्धता गर्नुपर्छ ।’ महिनावारी स्वच्छताका क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी संघसंस्थाले नतिजा केन्द्रीत काम गर्नुपर्ने मन्त्री मगरले बताउनुभयो ।

राष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसरमा यहाँहरु सबैलाई हार्दिक शुभकामना

राष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसरमा यहाँहरु सबैलाई हार्दिक शुभकामना

Posted by Bina Magar on Sunday, 27 May 2018

कमेन्ट गर्नुहोस्