राष्ट्रिय मर्यादित महिनावारी दिवस भव्यतापूर्वक सम्पन्न

महिनावारी स्वच्छता सम्बन्धी बेग्लै नीति बनाउने घोषणा

काठमाडौं, जेठ १४ । महिनावारीका समयमा हुने हिंसा अन्त्य र सरसफाई सुनिश्चित गर्न मर्यादित महिनावारी स्वच्छता नीति बनाउने घोषणा गरिएको छ ।

राष्ट्रिय मर्यादित महिनावारी दिवस–२०७५ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उपस्थित संघीय संसदका सभामुख कृष्णबहादुर महरासहित संघीय सरकारका मन्त्रीले नीति बनाएर कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

नीति लागू गर्ने सहितको ७ बुँदे सामुहिक प्रतिवद्धता सभामुख महरा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, महिला तथा बालबालिका मन्त्री थममाया थापा, खानेपानी मन्त्री बिना मगर र स्वास्थ्य राज्यमन्त्री पदमा अर्याल लगायतले हस्ताक्षर गर्नुभएको छ ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि सभामुख महराले सामाजिक कुरीति अन्त्यका लागि संविधान र कानून परिमार्जन गर्न आफ्नो पूरै सहयोग रहने बताउनुभयो ।

‘आवश्यक कानून परिमार्जन गर्न सम्बन्धित सबै मन्त्रालयले एकीकृत रुपमा प्रस्ताव ल्याए पूरै सहयोग रहन्छ,’ उहाँले भन्नुभयो । महिनावारीका समयमा हुने छुवाछुतलाई कानूनले अन्त्य गरिसकेको भएपनि सामाजिक र व्यवहारिक रुपमा अन्त्य हुन नसकेको उहाँले बताउनुभयो ।

‘यसको अन्त्यका लागि जागरण र जनचेतना फैलाउनु आवश्यक छ । मन्त्रालयले नेतृत्व लिएर कार्यक्रम गर्नु जागरणको पाटो हो,’ उहाँले भन्नुभयो, ‘जागरणका कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्छ ।’

कार्यक्रममा बोल्नुहुँदै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले हरेक स्कूललमा महिलामैत्री शौचालय निर्माण गर्न र शौचालयमा पानीको व्यवस्था गर्न मन्त्रालय कटिवद्ध रहेको बताउनुभयो । ‘मन्त्रालयले किशोरी शिक्षा र महिनावारीका विषयमा समयसापेक्ष पाठ्यक्रम निर्माण गर्ने काम गर्छ,’ उहाँले भन्नुभयो ।

महिला तथा बालबालिका मन्त्री थममाया थापाले महिनावारी प्रजननसँग जोडिएको विषय भएकाले सृष्टि सञ्चालनमा महिनावारीको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । ‘महिनावारीलाई अहिले संकुचित रुपले हेर्ने गरिन्छ, कुनै ठाउँमा बढी कुनै ठाउँमा कम छ तर, सबैतिर छ,’ उहाँले भन्नुभयो, ‘यसको अन्त्य गर्न सबै सचेत हुनुपर्छ, महिनावारी हुनु पाप होइन, धर्म हो ।’

कार्यक्रमका सभापति तथा खानेपानी मन्त्री बिना मगरले संसारको सृष्टिकर्ता महिलालाई महिनावारी हुँदा सम्मान गर्नुपर्ने बताउनुभयो । ‘समाजमा समानताका कुरा गर्छाै, देशमा समृद्धिका कुरा गरिरहेका छौं,’ मन्त्री मगरले भन्नुभयो, ‘महिलालाई महिनावारीका बेला हेपेर, मनोवल कमजोर पारेर समृद्धिमा योगदान गर्न सकिँदैन ।’

महिनावारी हुँदा छुवाछुत गर्ने समस्या देशैभरि रहेकाले घर परिवारबाटै यसको अन्त्य गर्नुपर्ने बताउनुभयो । ‘छाउपडी प्रथाका नाममा महिलाहरू सामाजिक विकृतिको शिकार भएका छन्,’ मन्त्री मगरले भन्नुभयो, ‘सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा छाउगोठमा राख्ने प्रथा भएपनि भान्सा छुन नदिने, पानी छुन नदिने, दाजुभाई छुन नदिने समस्या देशैभरि रहेको छ । तसर्थ, हाम्रै घरपरिवारबाट यसको अन्त्य गर्नुपर्छ ।’

छोरा परिपक्व भएपछि ब्रतबन्ध गरेर विवाह गर्ने लाइसेन्स प्रदान गरिएझै छोरीले महिनावारी भएर प्रजनन् कार्यका लागि प्राकृतिक रुपमै लाइसेन्स स्वीकृति पाएकाले महिनावारी अछुतो नहुने मन्त्री मगरले बताउनुभयो ।

‘छोरी महिनावारी हुँदा सम्मान र भोजभतेर गरेर उत्सवका रुपमा मनाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘यसका लागि हामी सबैले सामुहिक प्रतिवद्धता गर्नुपर्छ ।’ महिनावारीलाई मर्यादित बनाउन मन्त्रालयले अझैं सामुहिक सहभागितासहित योजनावद्ध कार्यक्रम बनाउने मन्त्री मगरले बताउनुभयो ।

स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले महिनावारीका बेला हुने छुवाछुत पनि हिंसा नै भएको बताउँदै यो हिंसालाई तोड्नुपर्ने बताउनुभयो । ‘महिनावारी प्राकृतिक भएपनि छुवाछुत प्राकृतिक होइन । मानव र समाज निर्मित छुवाछुत तोड्न र छोड्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘महिला महिनावारी हुँदा हुने हिंसा अब अन्त्य हुन्छ ।’

खानेपानी मन्त्री बिना मगरको सक्रियता पहिलो पटक राष्ट्रिय स्तरमा महिनावारी दिवस मनाइएको छ । दिवसमा खानेपानी मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय र स्वास्थ्य मन्त्रालय आयोजक रहेका थिए भने विभिन्न गैरसरकारी संघसंस्थाले सहयोग गरेका थिए ।

प्रतिवद्धता पत्रमा छाउपडी लगायतका कुप्रथा पूर्णरुपमा निषेध र निर्मुल गर्ने, देशैभरिका सामुदायिक विद्यालयमा नियमित पानीको उपलब्धता सहितको किशोरीमैत्री शौचालय निर्माण, महिनावारीका समयमा विद्यालय आएर निर्धक्क पढ्ने र स्वच्छता सामग्री उपलब्धताको सुनिश्चितता गर्ने, महिनावारीसँग जोडिएका कुरीति र गलत मान्यता परिवर्तन गर्न एकीकृत कार्ययोजना तर्जुमा गरी साझा कार्यक्रम अगाडि बढाउने लगायतका बुँदा समावेश छन् ।

स्थानीय तह, प्रदेश तह तथा संघीय तहको नेतृत्वमा रहेका सबै महिला तथा पुरुष जनप्रतिनिधिले घर परिवार र समाजमा आफैं उदाहरणीय बनेर महिनावारी सम्बन्धी सबै प्रकारका कुसंस्कार अन्त्य गर्ने, विकास साझेदारका तर्फबाट दीगो विकास लक्ष्य पूरा गर्न अघि सारिएका योजना र अभियानमा सक्रिय सहभागिता जनाउने र ‘महिनावारीलाई म र मेरो घरबाट नै मर्यादित बनाउँछु’ भन्ने दृढ अठोटका साथ गरेका प्रतिवद्धता व्यवहारमा लागू गर्ने बुँदा प्रतिवद्धतापत्रमा समावेश छन् ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा देशैभरिबाट जनप्रतिनिधि, छात्रछात्रा, अधिकारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्