ब्लडमनि तिर्न नसक्दा साउदी जेलमा रहेका थानेश्वर  जेल मुक्त,केहि दिनमा नेपाल पठाइने 

साउदी, जेठ १४ । ब्लडमनि बापतको रकम तिर्न नसक्दा बिगत ४ बर्ष देखि साउदी अरबको जेलमा रहेका मध्यविन्दु नगरपालिका ८ नवलपरासीका थानेश्वर भुसाल सोमबार जेल मुक्त भएका छन् ।

उनलाई छुटाउनका लागि थालिएको रकम संकलन अभियानबाट माग गरिएको ब्लड मनि रकम पूरा गरि बुझाएपछी ४ वर्षदेखि साउदीको जेलमा बन्दी जीवन बिताइरहेका भुसाललाई अदालतले रिहा गरेको प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) ले जानकारी दिएको छ।

कसरी परे भुसाल जेल ?

रोजगारीका लागि ५ बर्ष अघि साउदी पुगेका भुसाल साउदी स्थित एक कम्पनीमा कार्यरत थिए ।

कम्पनी मालीकले गाडी चलाउँदै गर लाईसेन्स् आउँदै गर्छ भनेपछि मालीकको कुरा काट्न नसकी थानेश्वर भुसाल बिना लाईसेन्स् गाडी चलाईरहे । अचानक एक दिन उनले चलाएको गाडीलाई पछाडीबाट अर्को गाडिले ठक्कर दियो।दुर्घटनामा उनको अगाडी र पछाडीको गाडीमा सवार साउदी नागरिक र भारतीय नागरिकको घट्ना स्थलमै मृत्यु भयो भने उनी आफै गम्भीर घाईते भए ।

साउदी अरबको ट्राफिक नियम अनुसार बिना लाईसेन्स् गाडि चलाउदा उनी फन्दामा परे । थानेश्वर भुसाल लामो समय देखि साउदीको जेलमा नरकीय जीवन बिताईरहेका थिए ।

साउदी सरकारको जेद्दा स्थित प्राइभेट राइट न्यायलयले भुसाल र भारतीय नागरिकलाई बराबर दोषी ठहर गर्दै मृतक साउदी नागरिकका परिवारलाई बल्ड मनी बापत १ लाख ५० हजार साउदी रियाल तिर्नुपर्ने फैसला सुनाएको थियो।

२०६७ असोज ६ गते साउदी गएका भुसाल २०६९ साल जेठ २६ गते दुर्घटनामा परेका थिए। यसरी भुसाल जेल परेपछि परिवारले जीवन रक्षा गरिदिन सबैलाई अपिल गरेसँगै देश विदेशबाट थानेस्वर भुसाल बचाउ अभियान तीब्र रूपमा चलाउदै आवश्यक रकमको लागि आर्थिक सहयोग सङ्कलन सुरु गरिएको थियो ।

भुसाललाई बचाउन विभिन्न देशका एनआरएनएका शाखासहित विदेशमा रहेका नेपाली कामदारले सहयोग गरेका हुन् । साउदी अरेबियासहित कुवेत, युएई, अस्ट्रेलिया, मलेसिया, कोरिया लगायतका देशबाट पनि ब्लड मनी संकलन भएको थियो।

यस्तै भुसाल बचाउ अभियानमा गैर आवसिय नेपाली संघ (एनआरएनए )ले १२ लाख ५० हजार नेपाली रुपैयाँ सहयोग गरेको थियोे।

भुसाललाई जेलबाट छुटेपछि जेद्दास्थित महावाणिज्य दूतावासमा ल्याएको पिएनसिसीले जनाएको छ। उनलाई डिपोर्टेसन सेन्टरमा पठाएर नेपाल फर्काउने तयारी हुँदै गरेको जेद्दास्थित महावाणिज्य दूतावासले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्