अब छिट्टै शिक्षा र स्वास्थ्य क्षेत्रको सिन्डिकेट अन्त्य : गृहमन्त्री थापा

काठमाडौं, जेठ १४ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले अब चाँडौं शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेका सिन्डिकेट अन्त्य हुने बताएका छन ।

सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा सोमबार विद्यार्थी संगठनका प्रतिनिधिसँगको भेटघाटमा गृहमन्त्री थापाले शिक्षा र स्वास्थ्य क्षेत्रमा आम नागरिकको सहज पहुँच पुर्‍याउन तथा यससँग सम्बन्धीत व्यवसायमा संलग्न माफियालाई कारबाही गरी एकाधिकारको अन्त्य गरिने प्रतिबद्धता व्यक्त गरे ।

यसअघि सरकारले यातायात क्षेत्रको एकाधिकार अन्त्य गरी कम्पनीमा दर्ता गर्नुपर्ने नियम कार्यान्वयन गरेको थियो ।

पुनःगठित अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी नेतृत्वको प्रतिनिधिमण्डलले शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन माग गर्दै ध्यानाकर्षण गराएपछि मन्त्री थापाले उक्त प्रतिबद्धता व्यक्त गरे ।

यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य गरेर महत्वपूण सफलता र चर्चित बनेका गृहमन्त्री अब अन्य क्षेत्रमा देखिएका सबै प्रकारका सिन्डिकेट अन्त्य गर्ने तयारीमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्