गणतन्त्र दिवस र आफ्नै मन्त्रालयको कार्यक्रम छोडेर पर्यटनमन्त्री नीजि कम्पनीसँग घुमघाममा

काठमाडौं, देशमा गणतन्त्र दिवसको भव्य समारोह, आफैंले सम्हालेको मन्त्रालयको एउटा विशेष कार्यक्रम ।

तर गणतन्त्र दिवस त परै जाओस्, आफ्नै मन्त्रालयको प्रमखु अतिथी बनेर बस्नुपर्ने कार्यक्रमसमेत छोडेर पर्यटनमन्त्री भने एभरेष्ट बेस क्याम्प पुगेका छन् । त्यो पनि नीजि कम्पनीको कार्यक्रममा ।

पर्यटन मन्त्रालयले गणतन्त्र दिवसको अवसर पारेर एघारौं अन्तर्राष्ट्रिय सगरमाथा दिवस कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको तालिका यसअघि नै तयार भएबमोजिम मन्त्रीले प्रमुख आतिथ्यता ग्रहण गर्ने थियो भने सचिवले अध्यक्षता गर्ने तय भएको थियो ।

कार्यक्रममा सगरमाथा आरोहणका गरेका आरोहीहरुलाई सम्मान गर्नेलगायतका विषयबस्तु थिए ।

पर्यटन मन्त्रालय आफ्नै आयोजनामा सम्पन्न कार्यक्रममा पर्यटनमन्त्रीको अनिवार्य उपस्थिति हुनु पर्ने थियो ।

तर मन्त्री अधिकारी भने व्यवसायी विक्रम पाण्डेको स्वामित्वमा रहेको हिमालयन एक्सेपडिसनको खर्चमा आज बिहान नै सगरमाथा बेस क्याम्प गएपछि यो विषयले ठूलो चर्चा पाएको छ ।

“हामी अपमानित भएको महसुस गरिरहेका छौं ।” कार्यक्रममा सहभागी एक पर्वतारोहीले भने, “पर्वतारोहीले भोगेका समस्याप्रति राज्य कति उदासीन छ भन्ने कुराको यो प्रत्यक्ष उदाहरण हो । कम्तीमा सम्बन्धित मन्त्रीका हातबाट सम्मानित हुन पाएको भए त्यसको बेग्लै अर्थ हुन्थ्यो ।”

कार्यक्रममा सम्बन्धित मन्त्रालयका मन्त्री उपस्थित नभएपछि कार्यक्रमकै विशिष्ट अतिथि, यसअघि सगरमाथा आरोहण गरेका र हाल खानेपानी मन्त्री बीना मगरले पर्वतारोहीहरुलाई प्रमाणपत्र दिएकी थिइन् ।

“यो हदैदर्जाको गैर जिम्मेवारीपना हो ।” कार्यक्रमका एकजना आयोजक सदस्यले भने, “नीजि कम्पनी ठूलो कि सरकारी कार्यक्रम भन्ने कुरा मन्त्रीले बुझ्नु पर्दैन ?” यतिसम्म कि सचिवलाई समेत यसबारेमा थाहा नभएको उनले बताए ।

मन्त्री अधिकारीसँग भने सम्पर्क हुन सकेको छैन । उनले जे जस्ता बाध्यता या तर्क दिएपनि उनकै मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उनी प्रमुख अतिथीको रुपमा उपस्थित हुनुको साटो घुम्न जानुले राम्रो सन्देश भने दिएको छैन ।

युवामन्त्री रविन्द्र अधिकारी चर्चामा आइराख्ने व्यक्ति हुन । उनले गरेका कतिपय कामको प्रशंसा समेत नभएको होइन । तर पर्वतारोहणका क्षेत्रमा उनको यो व्यवहारले भने उनी आलोचनामा परेका छन् । तस्वीर रवीन्द्र अधिकारीको फेसबुकबाट

कमेन्ट गर्नुहोस्