१३ खर्ब १५ अर्बको बजेट, कुन क्षेत्रमा कति छुट्याइयो

काठमाडौं, जेठ १६ । सरकारले आर्थिक वर्ष आव २०७५-७६ का लागि १३ खर्ब १५ अर्ब १७ करोडको वार्षिक बजेट सार्वजनिक गरेको छ ।

सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त सदनमा सरकारको वार्षिक बजेट प्रस्तुत गरेका हुन् ।

विनियोजित बजेट चालू आवको संशोधित खर्च अनुमान रू १० खर्ब ४७ अर्बभन्दा २ खर्ब ६८ अर्ब रुपैयाँ बढी छ ।

राष्ट्रिय योजना आयोगले सरकारलाई रु १२ खर्ब ४ अर्बको बजेट सीमा दिएको थियो ।

वार्षिक बजेट सो सीमाभन्दा १ खर्ब ११ अर्ब बढी आएको छ ।

सरकारको आय तथा व्ययको अनुमान प्रस्तुत गर्दै सङ्घीय अर्थमन्त्री डा. खतिवडाले कुल बजेटको ६४ प्रतिशत रु ८ खर्ब ४५ अर्ब चालू खर्च हुने सार्वजनिक गरेका छन् ।

सरकारले कुल बजेटबाट रु ३ खर्ब १४ अर्ब पूँजी निर्माण हुने प्रकृतिका शीर्षकमा खर्च गर्ने भएको छ, जुन चालू आवको संशोधित पूँजीगत खर्च रु २ खर्ब ३९ अर्बभन्दा रू। ७५ अर्ब बढी हो ।

वित्तीय व्यवस्थाको नामले चिनिने सरकारी ऋणको साँवा ब्याज भुक्तानी तथा सरकारले विभिन्न निकायमा गर्ने ऋण तथा लगानीका लागि रु १ खर्ब ५६ अर्ब छुट्याइएको छ ।

यो खर्च कुल खर्च विनियोजनको ११ दशमलव ८ प्रतिशत खर्च हो ।

चालू आवमा वित्तीय व्यवस्था शीर्षकमा रू। १ खर्ब ८ अर्ब खर्च हुने संशोधित अनुमान छ ।

वार्षिक खर्च व्यवस्थापन गर्न सरकारले रू। १० खर्ब ३ अर्ब राजस्व सङ्कलन गर्ने र स्रोत अपुग हुने करीब ३ खर्बमध्ये रू। ५८ अर्ब ८१ करोड अनुदान प्राप्त गरेर रू। २ खर्ब ५३ अर्ब ऋण लिने बताएको छ ।

पहिलो सङ्घीय बजेटमा प्रदेश र स्थानीय तहको अपेक्षाविपरीत कुल विनियोजनको सबैभन्दा धेरै रु १० खर्ब ६ अर्ब बजेट केन्द्र सरकारलाई छुट्याइएको छ भने ७ प्रदेशलाई रु १ खर्ब १३ अर्ब र ७ सय ५३ स्थानीय तहलाई रु १ खर्ब ९५ अर्ब विनियोजन गरेको छ ।

बजेटका प्रमुख बुँदा

आर्थिक वृद्धि ८ प्रतिशत
मूल्य वृद्धि ६।५ प्रतिशत
प्रत्येक प्रदेशमा ज्येष्ठ नागरिक आरोग्य आश्रम
खेतीयोग्य जमीन प्लटिङ गर्न रोक
हरेक प्रदेशमा १ औद्योगिक ग्राम, १ सेज
निर्यातमा ५ प्रतिशत अनुदान
७० वर्ष माथिकालाई १ लाखको स्वास्थ्य बीमा
साना किसानको ऋण मिनाहा
भिजिट नेपाल २०२० घोषणा
सुकुमवासीलाई आवासको व्यवस्था
४ करोडको निर्वाचन क्षेत्र विकास कोष
विकास सहायता नीति परिमार्जन
सरकारी खाताको कोष पूँजी निर्माणमा
योगदानमा आधारित पेन्सन व्यवस्था
पुनर्निर्माणमा १ खर्ब ५३ अर्ब

यो खबर आजको आर्थिक राष्ट्रिय अभियान दैनिकमा प्रकाशित छ ।

कमेन्ट गर्नुहोस्