बिहीबारमात्र फोरम नेपालले मन्त्रीको टुंगो लगाउने

काठमाडौं । संघीय समाजवादी फोरम नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे बिहीबारमात्र औपचारिक निर्णय गर्ने भएको छ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीसँग गत सोमवार २ बुँदे सहमति भएपनि मन्त्रीको नाम तय गर्न भने फोरमलाई सकस परेको हो।

बजेट सार्वजनिक लगायत कारण देखाउँदै पार्टीले औपचारिक बैठक बिहीबारका लागिमात्र बोलाएको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा प्रस्तुत हुने एजेण्डाबारे बुधबार पनि आन्तरिक छलफल गर्ने उहाँको भनाई छ ।

सत्ता नेतृत्वकर्ता दल नेकपाले शहरी विकास र स्वास्थ्य मन्त्रालय दिने प्रस्ताव गरेपछि फोरम नेपालबाट अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष श्रेष्ठ मन्त्री बन्न इच्छुक देखिएका छन् ।

यद्यपि पार्टीबाट अनुमोदन हुन बाँकी छ ।

मन्त्रालय हेरफेर गर्न आग्रह गरेकाले नाम टुंगो लगायत समय लागेको श्रेष्ठको भनाई छ । उहाँले भन्नुभयो– दुई मन्त्रालयमा सहमति भएको छ, तर हामीले सत्तारुढ दलको प्रस्तावमा हेरफेर गर्न भनेका छौ । त्यसमा प्रधानमन्त्री पनि सकारात्मक देखिनुभएको छ । केहि समय भित्रै हामी टुंगोमा पुग्छौ ।

मन्त्रालय हेरफेरमा समस्या भएपनि यसले सरकारमा पार्टीको सहभागीता भने नरोकिने श्रेष्ठको भनाई थियो । सरकारले संविधान संशोधनको मुद्दालाई अघि बढाउने सहमति भएसंगै संघीय समाजवादी फोरम सरकारमा सहभागी हुन लागेको हो । केन्द्रीय सरकारको समिकरणले प्रदेश २ मा पनि नेकपा र फोरमको सरकार बनाउन आन्तरिक तयारी सुरु भएको छ । यसअघि सो प्रदेशमा फोरमले राष्ट्रिय जनता पार्टी राजपासंग मिलेर सरकार गठन गरेको थियो । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्