यस्तो गम्भीर आरोप किन लाग्यो धुर्मुस–सुन्तली फाउन्डेसनमाथि ?

काठमाडौं, जेठ १७ । नेपाल सरकारले शुरुआत गरेको वीर अस्पताल सरसफाइ कार्यक्रमका नाममा धुर्मुस–सुन्तली फाउन्डेसनमाथि गम्भीर आरोप लागेको छ।

फाउन्डेसनको नाममा लाखौं रकम असुल गरेको भन्दै गम्भीर आरोप लागेको हो।

शताब्दी इतिहास बोकेको फोहोर र प्रदूषित वीर अस्पताल सरसफाइको नाममा धुर्मुस–सुन्तली फाउन्डेसनले मनपरी ढंगले सहयोग उठाइरहेको पाइएको छ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले सरकारी स्वास्थ्य संस्थालाई पूर्ण सरसफाइ युक्त बनाउन जेठो अस्पतालबाटै एकमहिने सरसफाइ अभियान सञ्चालन गरेकि थिइन् ।

गत वैशाख २३ गतेदेखि सफाइ अभियान चलाइएको थियो।

अस्पतालमा खटिने १ सय ५० सरसफाइ कर्मचारीले हरेक दिन सरसफाइ गरिरहे पनि अस्पताल निक्कै दुर्गन्धित भएपछि स्वास्थ्य राज्यमन्त्रीले आफैं शौचालयसमेत सफा गर्न वीर पुगेकी थिइन्।

स्वास्थ्य राज्यमन्त्री अर्यालले अभियानको थालनी गरेपछि सरसफाइ दूतका रूपमा समेत रहेका कलाकार सीताराम कट्टेल‘धुर्मुस’ले अस्पताल सफाइको बहानामा रकम असुल्न शुरू गरेको आरोप लागेको छ।

स्वास्थ्य राज्यमन्त्रीको अगुवाइमा शुरू भएको वीर अस्पताल सरसफाइ तथा रङरोगन अभियानको सबै खर्च अस्पतालले बेहोर्नुपर्नेमा धुर्मुसले इमोसनल कुरा गर्दै लाखौं रुपियाँ उठाएको आरोप लागेको हो।

सरसफाइका लागि सहयोग गर्न सार्वजनिक अपिल गरेरै रकम संकलनमा लागेको फाउन्डेसनले दैनिक लाखौं रुपियाँ उठाएको बताइएको छ।

स्वास्थ्य राज्यमन्त्री अर्यालले अस्पताललाई अझ राम्रो बनाऔं भनेर अभियान चलाउन खोज्दा धुर्मुस–सुन्तलीलाई अभियान्ताका रूपमा खोजी भएको थियो।

१ सय २८ वर्ष पुरानो अस्पतालको बाहिरी भाग (शौचालयसमेत) आफैं सफाइ गर्दै आन्तरिक सफाइ पनि जरुरी भएको स्वास्थ्य राज्यमन्त्री अर्यालले त्यस बेला नै बताएकी थिइन् ।।

देशका कुनाकाप्चाबाट दैनिक ५ हजार बढी बिरामी आउने अस्पतालमा स्वास्थ्य मन्त्रालयले अस्पताल र ट्रमा सेन्टरको १५–१५ दिनको सफाइ अभियान चलाउन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपतिनाथ क्षेत्र सफा गरेको खेम्स क्लिनिङसँग सहकार्य गरेको थियो।

वीर अस्पतालका निर्देशक डा, भुपेन्द्र बस्नेतले सबै सरसफाइको काम अस्पतालले गरेको सञ्चारमाध्यमलाई बताउदै आएका छन् ।

अस्पतालले आफ्नै खर्चमा सरसफाइ गरेको बताएपनि सो फाउन्डेसनले अभियान भन्दै रकम संकलन गरेको र संकलित रकम कहाँ कसरी खर्च भएको छ भन्ने बारेमा अहिलेसम्म कुनै हिसाब किताब सार्वजनिक भएको छैन।

सरफाइकै लागि ४७ लाख खर्च भएको भन्दै धुर्मुस सुन्तलीले आफू ऋणमा चलेको बताउँदै आएका छन्।

वीरका निर्देशकले काम गर्ने मान्छेदेखि खर्चसमेत अस्पतालले नै गरेको बताउनु र धुर्मुसले ४७ लाख खर्च भएको बताउनुले कुरा बाझिएको छ।

हाम्रो नबोल्ने नीति छ

वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले नेपाल यस विषयमा कुराकानी गर्न आनाकानी गरेका छन्।

स्वास्थ्य मन्त्रालयको अगुवाइमा काम भएको बताउँदै उनले रङ रोगनमा धुर्मुसले साथ दिएको बताए ।

‘स्वास्थ्य मन्त्रालयको अगुवाइमा काम भइरहेको छ। रङ रोगन धुर्मुसजीले गर्दै हुनुहुन्छ। अहिले यतिमात्रै भनौँ।’ उनले वीर सरसफाइको बारेमा आफू नबोल्ने नीति भएकोसमेत बताए ।

सरसफाइको जिम्मा वीर अस्पतालको मन्त्रालय

यता स्वास्थ्य मन्त्रालयले सरसफाइको जिम्मा वीर अस्पतालको भएको बताएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले स्वास्थ्य राज्य मन्त्रीले सरसफाइको शुरुआत गरेको र सबै सरसफाइको जिम्मा अस्पतालको भएको बताए ।

सरसफाइ दूतको रूपमा धुर्मुसको सहयोग आएको बताउँदै उनले सरसफाइको सबै खर्च अस्पतालले बेहोर्ने बताए ।

अस्पतालले नसकेको खण्डमा मन्त्रालयको सहयोग मागेर काम गर्नुपर्ने प्रवक्ता महेन्द्र श्रेष्ठको भनाई छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्