नेकपाको केन्द्रीय सदस्यमा चितवनबाट १७ जना (सूचिसहित), ज्ञवाली र दाहाल एकै ठाउँ

चितवन, जेठ १७। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यमा चितवनबाट १७ जना परेका छन् ।

तत्कालीन एमालेबाट ६ जना र माओवादी केन्द्रबाट ११ जना रहेका छन् ।

कूल ४४१ सदस्यमा एमालेबाट २४१ र माओवादीबाट २०० जना हुने गरी केन्द्रीय सदस्य बनाउने निर्णय भएको थियो । १७ जनामा चार जना महिला सदस्य रहेका छन् ।

नेकपाका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसअघि २ पटक प्रधानमन्त्री भइसकेका छन् ।

गत मंसिरमा भएको चुनावमा प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए ।

नेकपाका सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापा बादल चितवनबासी हुन् ।

उनी राष्ट्रिय सभाका सदस्यसमेत हुन् ।

चितवन क्षेत्र नम्बर १ बाट विजयी तत्कालीन एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे केन्द्रीय सदस्य भएका छन् । उनी पूर्वअर्थमन्त्रीसमेत हुन् ।

तत्कालीन एमालेबाट नेकपाको केन्द्रीय सदस्य हुनेहरुमा काशीनाथ अधिकारी, केशवलाल श्रेष्ठ, कृष्ण खनाल, देवी ज्ञवाली, सीता पौडेल रहेका छन् ।

केशवलाल श्रेष्ठ तत्कालीन एमाले सम्वद्ध किसान महासंघको सहअध्यक्ष हुन् ।

त्यस्तै, देवी ज्ञवाली एमालेका पूर्वकेन्द्रीय सदस्य हुन् ।

यसअघि भरतपुर महानगरको मेयर पदमा उनी तत्कालीन एमालेबाट उम्मेदवार बनेका थिए ।

खनाल, पौडेल विघटन हुनु अघिका केन्द्रीय सदस्य हुन् ।

नारायण दाहाल तत्कालीन माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य रहेका थिए ।

नेकपाका केन्द्रीय सदस्य सूर्य सुवेदी ‘पथिक’ गृहमन्त्री रामबहादुर थापा बादलको प्रमुख राजनीतिक सल्लाहकार हुन् ।

डीआर पौडेल पार्टीका केन्द्रीय सदस्य र पूर्वशिक्षा मन्त्रीसमेत हुन् ।

सन्तु दराइ यसअघि माओवादी केन्द्रबाट समानुपातिक सांसद थिए ।

नेकपाकी केन्द्रीय सदस्य रेणु दाहाल भरतपुर महानगरपालिकाकी मेयरसमेत हुन् ।

यसअघि पनि उनी पार्टीको केन्द्रीय सदस्य थिइन् ।

तत्कालीन माओवादी केन्द्र चितवनका इन्चार्ज र सचिवालय सदस्यसमेत रहका ईश्वरी भट्टराई नेकपाको केन्द्रीय सदस्य भएका छन् ।

हालका केन्द्रीय सदस्य ज्ञानु बस्नेत र गंगा बेल्वासे पनि यसअघिका केन्द्रीय सदस्य हुन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अमिक शेरचन नेकपाको स्थायी आमन्त्रित केन्द्रीय सदस्य हुन् ।

यसअघि चितवनकै साध्यबहादुर भण्डारीको नाम केन्द्रीय सदस्यमा रहेको प्रचार भएको थियो ।

तर, अन्तिम नामावलीमा भण्डारीको नाम छैन । उनी गत मंसिर महिनामा जनमोर्चाबाट एमाले प्रवेश गरेका थिए ।

तत्कालीन एमाले
१ सुरेन्द्र पाण्डे
२ केशवलाल श्रेष्ठ
३ काशिनाथ अधिकारी
४ कृष्ण खनाल
५ देवी ज्ञवाली
६ सीता पौडेल

तत्कालीन माओवादी केन्द्र
१ पुष्पकमल दाहाल प्रचण्ड
२ रामबहादुर थापा बादल
३ नारायण दाहाल
४ सुर्य सुवेदी पथिक
५ डि आर पौडेल
६ सन्तु दराइ
७ रेणु दाहाल
८ ईश्वरी भट्टराई
९ ज्ञानु बस्नेत
१० गंगा बेलवासे
११अमिक शेरचन

ज्ञवाली र दाहाल एकै ठाउँ

०७४ वैशाख ३१ गतेको स्थानीय निकायको चुनावमा भरतपुर महानगरको मेयर पदका प्रतिस्पर्धी रहेका तत्कालीन नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य देवी ज्ञवाली र तत्कालीन माओवादी केन्द्रकी केन्द्रीय सदस्य रेणु दाहाल ।

दुवै जना फरक पार्टीबाट उम्मेदवार भएका थिए । तर, पार्टी एकतापछि ज्ञवाली र दाहाल पार्टी जिम्मेवारीमा समान हैसियतमा पुगेका छन् ।

उनीहरु दुबै हालै गठित नेकपाको केन्द्रीय सदस्य भएका छन् ।

कमेन्ट गर्नुहोस्