प्रधानमन्त्री ओली असार ५ गते चीन भ्रमणमा जाने, यी हुन भ्रमणका प्रमुख एजेण्डा

काठमाडाैं, जेठ १७ । प्रधानमन्त्री केपी शर्मा ओली असार ५ गते उत्तरी छिमेकी चीनको भ्रमणमा जाने निश्चित भएको छ । परराष्ट्र मन्त्रालयले ओलीको चीन भ्रमण असार ५ गते हुने बताएको छ ।

परराष्ट्र स्रोतअनुसार ओलीले जुन १९ देखि २४ (असार ५ देखि १०) सम्म जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण गर्नेछन्।

प्रधानमन्त्री ओलीले चीन भ्रमण सिचुवान प्रान्तबाट शुरु गर्ने भएका छन् । उच्चस्रोतका अनुसार प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सि जिनपिङ, प्रधानमन्त्रीसहित उच्च नेताहरुसँगको भेटघाटको कार्यतालिक समेत तयार भईसकेको छ ।

नेकपा नेतृत्वमा बहुमतको सरकार गठन भएपछि पहिलो पटक ओली चीन जान लागेका हुन्। ओलीको चीन भ्रमणमा रेलमार्ग, अन्तरदेशीय प्रसारण लाइन, सुक्खा बन्दरगाह एवं ७ वटै प्रदेशमा आपतकालीन उद्धार केन्द्र स्थापनासहितका विषयले प्राथमिकता पाउनेछन्।

नेपालले चीनसँग सीमा जोडिएका रसुवागढी, किमाथांका, कोराला, हिल्सा नाकाको नेपाली भूभागमा दीगो सडक निर्माणसहितका प्रस्ताव लैजाने तयारी गरेको बताइएको छ।

कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धनको विषय पनि भ्रमणको प्राथमिकतामा रहेका छन् । नुवाकोट र पाँचखालमा औद्योगिक करिडोर एवं इन्धन भण्डारण केन्द्र निर्माणका विषयले पनि ओली भ्रमणमा प्राथमिकता पाउनेछ।

परराष्ट्र मन्त्रालयले यसअघि ओलीको चीन भ्रमणलाई लक्षित गर्दै अन्तर मन्त्रालय छलफल गरेको थियो। विषयगत मन्त्रालयहरुले के के विषयमा सहयोग लिन चाहेको भन्ने तथ्यगत प्रतिवेदन सबै मन्त्रालयहरुले परराष्ट्रलाई बुझाइसकेका छन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली वैशाखको पहिलो साता बेइजिङ पुगेर ओलीको चीन भ्रमण निश्चित गरेका थिए। त्यतिबेला उनले २०७२ को अन्त्यमा ओलीको चीन भ्रमणका क्रममा गरिएका सम्झौताहरुको कार्यान्वयनको अवस्थाबारे चिनियाँ पक्षसँग छलफल गरेका थिए।

चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० अन्तर्गत रहेर ठोस प्रस्ताव ल्याउन नेपाललाई आग्रह गर्दै आएको छ। चीन ओलीको दोस्रो विदेश भ्रमण हो। गत चैतमा उनले भारतको औपचारिक भ्रमण गरेका थिए।

कमेन्ट गर्नुहोस्