सकियो सुनकाण्डका प्रमुख नाइके भनिएका एसएसपी श्याम खत्रीको बयान, आजै फैसला आउने

बिराटनगर, जेठ १७। पछिल्लो समय नेपालमा भइरहेका सुन तस्करी प्रकरणका प्रमुख अभियुक्तमध्येका एक एसएसपी श्याम खत्रीको बयान सकिएको छ ।

एसएसपी खत्रीले बिहीबार बिहान मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । त्यस लगत्तै खत्रीसँग बयान लिन शुरु भएको थियो ।

मोरङ अदालतका अनुसार खत्रीविरुद्धको थुनछेक बहस शुरु भएको छ । यसैसाता उनको खोजीका लागि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस जारी भएको थियो ।

प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले खत्री विमानस्थलमा रहँदादेखि एक किलो सुन पास गराउँदा ५० हजार लिने गरेको बयान दिएका थिए । खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको उनको बयान थियो ।

खत्री तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाई दिएको थियो ।

अदालतले थुनछेक बहस सकिएपछि आजै आदेश दिने बताइएको छ । जसमा उनीमाथि थप अनुसन्धानका लागि जेल चलान गर्ने निश्चित भएको बुझिएको छ ।

कमेन्ट गर्नुहोस्