संसदको दुर्लभ दृश्य, सांसद रोष्टममै रोएपछि…

काठमाडौं, जेठ १७। बजेटमा अर्थमन्त्रीले सांसदलाई अपमान गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका सांसद गजेन्द्रबहादुर महत प्रतिनिधिसभा बैठकमै रोएका छन् ।

आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित बजेटमाथि बिहीबारदेखि शुरु भएको छलफलमा भाग लिँदै जुम्लाका सांसद महत रोष्टममै रोएका हुन ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा ४ करोड छुट्याए पनि योजना छनोटका लागि स्थानीय प्रतिनिधिसमेत रहेको समिति बनाउनु गलत भएको उनले बताए ।

सांसद तह लगाउने बजेट आएको भन्दै उनले भने, ‘कोही मन्त्री भएँ भन्दैमा हामीलाई बाँधेर राख्न पाइन्छ भन्या ? हामीलाई तह लगाउन पाइन्छ ? हामीलाई वडाअध्यक्षको ठाउँमा लिएर राख्न पाइन्छ भन्या ? चाहिएको छैन हामीलाई ४ करोड ।’

आफ्नो विरोधले केही नहुने जान्दाजान्दै असन्तुष्टि राख्नुपरेको उल्लेख गर्दे उनले भने ‘बजेटको मैले बचाउ गरिरनुपर्छ जस्तो लाग्दैन । कमजोर बस्तुको बचाउ गरिन्छ, बलियो बस्तुको सायद बचाउ गरिन्न । सितिमिति सायद यो हल्लिदैन ।’

‘स्वर्गीय गिरिजाप्रसाद कोइरालाले भन्नुभएको थियो, तपाईहरुको विरोधले मलाई केही हल्लाउदैन । मैले त्यही शब्द सापटी लिएँ । विरोधले खासै हल्लिने देख्दिनँ । तर पनि बजेटले मलाई हल्लाइरहेको छ । हुम्लालाई हल्लाइरहेको छ ।’

बजेट शहर केन्द्रित भएको भन्दै उनले कर्णाली र जुम्लालाई सम्बोधन गर्न नसकेको गुनासो गरे । उनले भने, ‘यो बजेट जुम्ला जिल्लाका लागि न हर्ष छ,न विस्मात छ ।’

नेताहरुको ठाउँमा जति बजेट गएको छ, त्यति आफ्नो ठाउँमा जानुपर्ने उनको माग छ ।

सांसदको नाममा सबै सांसदलाई मुछ्ने काम गरेको भन्दै महतले असन्तुष्टि जनाए । दिनभरी संसदमा बस्दा पनि तपाई त हुनुहुन्न रे भन्दै जनताले फोन गर्ने गरेको भन्दै उनले भने, ‘फलानो सांसद छैनन, एनजीओको कार्यक्रममा छ भन्नुपर्‍यो । हामी सोझालाई बलीको बोका बनाउने ?’

कमेन्ट गर्नुहोस्