भरतपुर महानगरका ६७ प्रतिशत घर भूकम्प प्रतिरोधी

चितवन । भरतपुर महानगरपालिकामा ७५ प्रतिशत घर नक्सापास गरी निर्माण भएको र तीमध्ये ६७ प्रतिशत घर भूकम्प प्रतिरोधी बनेको बिहीबार भरतपुरमा आयोजित एक कार्यक्रममा जानकारी दिइएको छ ।

भरतपुर महानगरपालिकाले आयोजना गरेको भूकम्प प्रतिरोधी घर सम्बन्धी अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

गृहमन्त्री रामबहादुर थापा बादल प्रमुख अतिथि रहनु भएको कार्यक्रम भरतपुर महानगर प्रमुख रेणु दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै महानगरपालिकाका इञ्जिनियर सूर्यप्रकाश लामाले भरतपुर महानगरपालिकाले आफ्नै भवन निर्माण संहिता लागु गरी अगाडि बढिरहेको जानकारी दिनुभयो ।

उहाँले भरतपुर महानगरपालिकामा ६७ प्रतिशत घर भूकम्प प्रतिरोधी बनेको र ७५ प्रतिशत नक्सापास हुने गरेको जानकारी गराउनु भयो ।

भरतपुर महानगरपालिकाले भूकम्प प्रतिरोधी घर बनाउने सवालमा देशकै नमुना काम गरिरहेको एनसेटले जनाएको छ । कार्यक्रममा एनसेटका प्रतिनिधिहरू, महानगरपालिकाको विभिन्न वडाका अध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरू, राजनितिक दलका प्रतिनिधि, प्राविधिक र कर्मचारीहरूको सहभागिता रहेको थियो ।

त्यसै गरी विपद् बैठक गृहमन्त्री थापाको उपस्थितिमा जिल्ला विपद ब्यवस्थापन समितिको बैठक बसेको छ । विपद् समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापा बादलले कतिपय विपद मानव सिर्जित र कतिपय विपद प्रकृतिकै कारणले हुने विचार व्यक्त गर्नुभयो । उहाँले दिगो र सुरक्षित पूर्वाधार निर्माण गरी जोखिम न्यूनीकरण गर्न सकिने बताउनु भयो ।

चितवनमा नदी र जंगली जनावरको कारणबाट हुने विपद धेरै पाइएको बताउँदै गृहमन्त्री थापाले नदी र जंगली जनावरलाई मानव सभ्यता र समृद्धिको रूपमा उपयोग गरिनुपर्ने धारणा सुनाउनु भयो । प्रकतिलाई सन्तुलित ढंगले उपयोग गर्दै यसको संरक्षण गर्नुपर्ने उहाँको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्