मोरङ, जेठ १८ । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणसँग जोडिएको मुद्दाको प्रतिवादीको पक्षमा बहस गर्न गएका प्रदेश सांसद अप्ठेरोमा परेका छन् ।
एक नम्बर प्रदेश सभा सांसद लिलावल्लभ अधिकारीको विषयमा पार्टीभित्रैबाट कडा आलोचना हुन थालेपछि नेकपा संसदीय दलले स्पष्टिकरण सोधेको छ ।
मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईले अधिकारीलाई विहीबार लिखित स्पष्टिकरण दिन निर्देशन दिएका हुन् ।
अधिकारीले सुन तस्करीमा जोडिएका निलम्बित प्रहरीका सई बालकृष्ण सञ्जेलको पक्षमा बहस गरेका थिए ।
गम्भीर प्रकृतिको अपराधमा अभियुक्तको पक्षमा बहस गरेपछि अधिकारीले गलत गरेको भन्दै सत्तापक्ष सांसद र मन्त्रीको असन्तुष्टी थियो ।
विहीबार बसेको संसदीय दलको बैठकमा अधिकारीले बहस गरेको बिषय चर्को रुपमा उठाइएको थियो ।
पार्टीका सांसदहरुले प्रश्न उठाएपछि स्पष्टिकरण सोध्ने निर्णय भएको उप नेता टंक आङ्बोहाङले जानकारी दिनुभयो ।
पार्टी एकिकरण पछि बसेको दलको पहिलो बैठकले नेतामा राई र उप नेतामा आङ्बोहाङलाई चयन गरेको छ ।