सिटामोलका लागि ५ घण्टा पैदल

बझाङ । जिल्लाको दुर्गाथली गाउँपालिकाको चुवाबन र छविस पाथिभेरा गाउँपालिकाको बुडखोरीका बासिन्दा सिटामोल लिन ५ घन्टा पैदल हिड्न बाध्य छन् ।

गाउँमा स्वास्थ्य इकाई नहुदा सिटामोल कै लागि लामो यात्रा तय गर्नुपर्ने बाध्यता भएको हो ।

गाउँमा न प्रसुति केन्द्र छ । न खोप केन्द्र । बालबालिका र महिलाको स्वास्थ्य अवस्था पनि जोखिममा रहेको बुडखोरीका जनक बोहराले बताए ।

‘कुनै महिलालाई व्यथा लाग्यो भने स्ट्रेचरमा बोकेर विसौनासम्म पुर्‍याउनुपर्छ ।

भनेको बेला बोक्ने मान्छे पनि हुदैनन्,’ उनले भने,‘कतिपयको बाटोमै अकाल ज्यान जाने गरेको छ ।’

नवजात शिशुलाई खोप केन्द्र आउजाउमा सुत्केरीले लामो यात्रा तय गर्नुपर्ने भएकाले विभिन्न स्वास्थ्य समस्या देखिने गरेको उनले बताए ।

खोप केन्द्र लैजानका लागि दिनभर लाग्ने भएकाले यहाँका कतिपय अभिभावकले बच्चालाई खोप नै नलगाउने गरेको चुवाबनकी शान्ती महतले बताइन् ।

‘आउजाउमै दिन भर लाग्छ,’ उनले भनिन्, ‘खोपको महत्व बुझेकाहरु त हिडेरै गएर पनि लगाउछन् । महत्व थाहा नभएकाले आज सम्म लगाइएन, अब लाएर के नै हुन्छ भनेर खोपै लाउदैनन् ।’

गाउँमै खोप केन्द्र भए कोही पनि बालबालिका खोपबाट बञ्चित हुनु नपर्ने उनले बताइन् ।

स्वास्थ्य संस्था टाढा भएकाले बिरामी हुने वित्तिकै उपचार नपाउने र थलिए पछिमात्र बोकेर उपचारको लागि लैजाने गरेको बुडखोरीका गिरी बोहराले बताए ।

यसले कतिपय बिरामी सिकिस्त भएपछि मात्र स्वास्थ्य संस्थामा पुग्ने र ज्यानै समेत गुमाउने गरेको उनले सुनाए ।

यी दुई गाउँमा ३ सय ७५ परिवारको २ हजार २ सय जनसंख्या छ ।

स्थानीय समुदाय वा गाउँपालिकाले स्वास्थ्य इकाई निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउन सक्ने निर्णयसहितको निवेदन दिएमा इकाइ राख्न स्वास्थ्य सेवा विभागलाई सिफारिस गर्न सकिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. अनुप रेग्मीले बताए ।

सामुदायिक स्वास्थ्य सेवा इकाइ स्थापना भए स्वास्थ्य चौकीबाट प्रदान हुँदै आएका खोप, प्रसुति जाँच र अन्य उपचार सेवा त्यँहीबाट प्रदान गरिने उनले बताए । कान्तिपुर दैनिकमा समाचार छ ।

बझाङको छविस पाथिभेरा गाउँपालिकाको बुडखोरी गाउँ । तस्बिर : बसन्तप्रताप सिंह 

कमेन्ट गर्नुहोस्