सीमावर्ती नाकाका सबै सडकहरु ६ लेनको बनाइने

काठमाडौं । भारत र चीनसँग जोडिएका केही नाकामा सवारीसाधनको चाप बढ्न थालेपछि सरकारले व्यापारिक मार्ग विस्तार आयोजना अगाडि बढाएको छ । खासगरी महेन्द्र राजमार्गदेखि दक्षिणतर्फका नाकामा दुई लेनको सडकले गाडीको चाप थेक्न नसक्ने अवस्था आएको सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले बताए । ‘त्यसैले आगामी २५-३० वर्षसम्म धान्न सक्नेगरी व्यापारिक मार्गलाई ६ लेनमा विस्तार गर्न लागिएको हो,’ उनले भने ।

व्यापारिक मार्गको विस्तारले सीमा नाकाहरूबाट सहजरूपमा आयातनिर्यात गर्न सकिने छ । यससँगै अत्याधुनिक व्यापार मार्गमा पर्ने बस्तीहरू पनि व्यापारिक करिडोरका रूपमा विकास हुनेछन् । यस्ता करिडोरभित्र उद्योग–कलकारखाना निर्माणले पनि तीव्रता पाउने महानिर्देशक सिग्देलको भनार्इ छ । साथै, यी क्षेत्रमा विदेशी लगानी भित्रिने सम्भावनासमेत उनले औंल्याए ।

सरकारले हाल व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत बेलहिया–बुटवल सडक, रानी विराटनगर–इटहरी सडक, वीरगञ्ज–पथलैया, जटही–जनकपुर–ढल्केवर र मोहनापुल-अत्तरिया सडकखण्ड विस्तारअघि बढाएको छ । यी आयोजनालाई उच्च प्राथमिकतामा राखिएको सिग्देलले जानकारी दिए ।

२७ किमीको बेहलिया–बुटवल सडक खण्ड ६ लेनमा विस्तार भइरहेको छ । यस खण्डको हालसम्म ११ किमी सडक कालोपत्र भइसकेको छ । वीरगञ्ज–पथलैया खण्डको २८ किमी सडक विस्तारको काम द्रुत गतिमा भइरहेको सिग्देलले बताए । जटही–जनकपुर–ढल्केवर खण्डको जटहीदेखि जनकपुरसम्म १३ दशमलव ८ किमी सडकको विस्तार पनि अघि बढेको छ । जनकपुर–ढल्केवर खण्डको २३ किमी सडकको ठेक्कापट्टा व्यवस्थापन भएसँगै निर्माण थालिएको छ । यसैगरी, सुदूरपश्चिमको मोहनापुल–अत्तरिया खण्डको १३ किमी विस्तारको काम पनि शुरू भएको छ ।

व्यापारिक मार्गका विशेषता

यी सडकको चौडाइ ५० मिटर हुनेछ । सडकको बीचमा ‘डेडिकेटेड’ चार लेन तथा दुवै छेउमा सर्भिस लेन रहनेछ । सर्भिस लेनभन्दा बाहिर फूटपाथ छुट्ट्याइएको छ । सडक विभागले खानेपानी, ढललगायत संरचना आफ्नै खर्चमा फूटपाथमा सार्ने सिग्देलले जानकारी दिए । यसो हुँदा खानेपानी, ढललगायतको मर्मत–सम्भारका लागि सडक बिगार्नुपर्दैन । यो सडकमा निश्चित ठाउँबाट मात्र बाटो काट्न पाइनेछ ।

हालसम्मको अवस्था

बेलहिया–बुटवल सडकको २७ किमीमध्ये हालसम्म ११ किमी सडक कालोपत्रे

रानी–विराटनगर–इटहरी सडकको २८ किमीमध्ये ५ किमी सडक कालोपत्रे

वीरगञ्ज–पथलैया २८ किमी सडक दु्रतगतिमा विस्तार हुँदै

जटही–जनकपुर–ढल्केवर खण्डअन्तर्गत जटहीदेखि जनकपुर (१३ दशमलव ८ किमी)सम्मको विस्तार शुरू ।

यस्तै, जनकपुर–ढल्केवर खण्डको २३ किमी सडकको ठेक्कापट्टा व्यवस्थापन सम्पन्न भएर काम थालिएको
मोहनापुल–अत्तरिया १३ किमी सडकको ठेक्कापट्टा व्यवस्थापन भएर विस्तार शुरू । अार्थिकअभियानबाट

कमेन्ट गर्नुहोस्