धनगढी, जेठ २६ । प्रदेश नम्बर सातको नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुँदैछ।
दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सरकारको आर्थिक वर्ष २०७५÷०७६ को लागि नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको छ।
प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्न २४ गते प्रदेश सभामा निवेदन दिए अनुसार आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको प्रदेश सभाका सचिव बालाराम शर्माले जानकारी दिए।
प्रदेश प्रमुख मार्फत प्रदेशसभामा आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तु भएपछि उक्त नीति तथा कार्यक्रममा छलफलको लागि दुई दिन सांसदलाई समय दिइने कार्यक्रम रहेको समेत उनले बताए।
शुक्रबार बसेको मन्त्री परिषद्को बैठकले आर्थिक वर्ष २०७५÷०७६ को लागि नीति तथा कार्यक्रम पारित गरेको थियो।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशको विकास र समृद्धिमा आधारित रहेको बताइएको छ। बजेटले विशेष गरेर पाचँ वर्षमा प्रदेश सातलाई कृषिमा आत्मनिरभर बनाउने लक्ष्य लिएको आर्थिक मन्त्रालयले जनाएको छ।
प्रदेश सातमा पुर्वधारको विकास विस्तार र पर्यटन पर्वद्धन प्रदेश सरकारको अर्को प्राथमिक्तमा परेको जनाइएको छ। यस्तै यहाँका गरिब विपन्नहरूलाई बजेटले विशेष सम्बोधन गर्ने समेत बताइएको छ।
यस्तै, कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ ।
प्रदेश सरकारले आगामी वर्ष २०७५ ७६ का लागि आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको हो ।
प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेशसभाको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको प्रदेश सचिवालयका निमित्त सचिव लक्ष्मण शर्माले जानकारी दिए ।
गएको बिहीबार मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको नीति तथा कार्यक्रम शुक्रबार पेश गर्ने भनिए पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सरकारले गरेको कामप्रति असन्तुष्टि जनाउँदै संसद अवरुध गरेपछि नीति तथा कार्यक्रम शुक्रबारको बैठकमा पेश भएको थिएन् ।