पोखरा, जेठ २६ । उपप्रधानमन्त्री एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चाहेमा संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जान सकिने बताएका छन् ।
नेकपा र फोरम नेपाल मिल्दा संसदमा अहिले दुई तिहाई पुग्ने भन्दै यादवले संविधान संशोधन गरेर शासकीय स्वरुप परिबर्तन गर्न सकिने स्पष्ट पारे ।
शनिबार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै फोरम अध्यक्ष यादवले भने, ‘कम्युनिष्टको पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नै हो, हामीले चाहेको पनि त्यहि हो । कम्युनिस्टले चाहेमा संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जान सकिन्छ, त्यसका लागि हामी तयार छौं ।’
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली हुँदा लोकतन्त्र झन् बलियो हुने भन्दै उनले भने, ‘यसले लोकतन्त्रलाई धरापमा पार्दैन, गणतन्त्र झन् बलियो हुन्छ ।’
उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवले नेपाल कम्युनिष्ट कम्युनिष्टसँग एकता गर्ने कुरा हल्ला मात्र भएको बताए । पार्टी एकता गर्नका लागि कम्युनिस्ट शब्द छाड्नुपर्ने उनको भनाइ थियो ।
समाजवादी शक्तिहरुसँग भने एकता हुने बताउँदै त्यसका लागि प्रयास भइरहेको उनले बताएका छन् ।
तत्कालीन नेकपा माओवादी केन्द्र र फोरम नेपाल संविधानसभाबाट संविधान जारी गर्दा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीकै पक्षमा रहे पनि एमाले र नेपाली कांग्रेसका कारण त्यो सम्भव भएको थिएन ।
ओली नेतृत्वका सरकारमा फोरम नेपाललाई सहभागी गराउनुको प्रमुख उद्देश्य दुई तिहाई बढीको शक्तिशाली सरकार बनाउने र अनुकुल समयमा संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जाने रहेका जानकारहरु बताउँछन् ।