पृथ्वीनारायण शाहको २१ फिट अग्लो शालिक निर्माणका लागि अभियान

बैतडी, जेठ २८ । सुदूरपश्चिम नेपालको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको बैतडीको दशरथचन्दनगरपालिका ५ सुन्दरखालीमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २१ फिट अग्लो शालिक र विशाल नेपालको नक्सासहित उद्यान निर्माणका लागि अभियान थालिएको छ।

शहिद दशरथचन्दको जन्मभूमीसमेत भएकाले टुक्रा–टुक्रा भएको देशलाई एकीकरण गर्ने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको देशकै ठूलो शालिक निर्माणका लागि अभियान थालिएको हो।

शालिक निर्माणका लागि स्थानीयस्तरदेखि राष्ट्रियस्तरसम्म पहल जारी रहेको छ। पृथ्वीनारायण शाहको शालिकसंगसँगै त्यहाँ एकता उद्यान समेत निमार्ण गरिने राष्ट्रिय संरक्षण अभियान बैतडीका अध्यक्ष एजं हेमबाबु लेखकले बताए।

करिब ७ रोपनी जमिनमा पृथ्वी बाटिका, असहाय वृद्धवृद्धा तथा बालवालिकाको संरक्षण र शिक्षादिक्षा दिनका लागि मायाघर निर्माण गरिने समेत पशुपति अनलाइनलाई लेखकले जानकारी दिए।

शालिकसँगै पृथ्यीनारायण शाहको ऐतिहासिक समेटिएको संग्राहलय समेत निर्माण गरिने छ, अध्यक्ष लेखकले भने,‘७ रोपनीमा नेपालको नक्सा आकारको तलाउ पर्यटकीय आकर्षणको दृष्ट्रिले निर्माण गरिन्छ।’

राष्ट्र निर्माण र यसको परिकल्पना गर्नमा पृथ्वीनारायण शाहको महत्वपूर्ण योगदान छ, उनले भने, ‘शाहको अहिलेसम्मकै ठूलो मुर्ति जसले नेपालको ऐतिहासिक महत्व प्रष्ट झल्काउने खालको संग्राहलय र नेपाल सम्वन्धी सम्पूर्ण जानकारी दिने खालका सूचनामूलक सामग्री समेत राखिने छन्।’

उक्त जमिन भावना र सामाजिकसँग जोडिएका असाहय वृद्धवृद्धाका लागि समेत मायाको घर निर्माण गरिने उनले बताए। उनले देशभरका असाहय आफ्नो सम्पर्कमा आएपछि त्यहाँ संरक्षण गरिने बताए। पछिल्लो समय राष्ट्रियता माथि आक्रमण भएको छ,चाहे त्यो संस्कृतिका नाममा होस् चाहे त्यो भाषाका नाममा होस्,राष्ट्रियता माथि संकट पर्दा समेत हामी खुलेर कुरा गर्न सक्दैनौं।’

त्यसकारण राष्ट्रियताका कुराहरु गर्नु मिथ्या रहेको उनको आरोप छ। शालिकदेखि संग्राहलय निर्माणका लागि २ करोड २३ लाख जति खर्च हुने राष्ट्रिय संरक्षण अभियानले अनुमान गरेको छ।

जसका लागि आम नागरिक तथा सरकारले सक्दो सहयोग गर्ने समेत अपेक्षा गरिएको छ। मुर्ति निर्माणदेखि अन्य निर्माण कार्य सम्पन्न हुन २ बर्ष लाग्ने लक्ष्य राखेको राष्ट्रिय संरक्षण अभियानले जनाएको छ। सम्पूर्ण कार्य सम्पन्न भएपछि विस २०७६ साल पुष २७ गते विधिवत रुपमा उद्घाटन गरिने छ।

शालिक निर्माणदेखि अन्य कार्यका लागि संरक्षण अभियानले राष्ट्रिय झण्डा, दाउरा सुरुवाल, ढाका टोपी र पृथ्वीनारायण शाहका तस्वीरहरु प्रयोग गरिएका टिसर्टहरु घर घरमा गएर सहुलियत दरमा विक्री गरेर सहयोग जुटाउने सोच बनाएको अभियानका अध्यक्ष लेखकको भनाई छ।

उनले आर्थिक सहयोग जुटाउने काम शुरु भईसकेको समेत बताए। मुर्ति बनाउने काम शुरु भईसक्यो, उनले भने,‘सम्पूर्ण मुर्तिको काम पुरा हुन करिब १४ देखि १५ महिना लाग्न सक्छ, मुर्ति धातुको हुनेछ र ४ हजार किलो अर्थात् ४ टनसम्म बजन हुनेछ।’पशुपतिआइनबाट साभार

कमेन्ट गर्नुहोस्