थाल ठटाउँदै रामेछापका व्यवसायी सडकमा

रामेछाप, असार ३ । रामेछापका व्यवसायी र सर्वसाधारणले रित्ता थाल ठटाउँदै आइतबार मन्थली बजारमा सरकारको विरोधमा प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतको आदेशपछि बीपी राजमार्गमा ठूला सवारी संचालनमा सरकारले रोक लगाएको छ । खाद्यान्न ओसारपसार गर्ने मालबाहक गाडी सञ्चालनमा प्रतिबन्ध लगाएपछि १२ दिनदेखि रामेछापमा खाद्यान्न लगाएतका सामाग्री ढुवानी हुन सकेको छैन ।

वर्षायामलाई ध्यानमा राखि व्यवसायीले यसअघि भण्डारण गरेको सामाग्री सकिएका छन् । तराईबाट पहाड जोड्ने एक मात्र राजमार्गमा सवारी सञ्चालन रोकेपछि व्यवसायीले गोदाममा सामाग्री थप गर्न सकेका छैनन् ।

मौज्दात गरेका सामाग्री सकिएको भन्दै जिल्लाका व्यवसायीहरुले आइतबार खान पाउने अधिकारको सुनिश्चिताको माग गर्दै रित्ता थाल ठटाएर प्रदर्शन गरेका हुन् । बजार बन्द गरी प्रदर्शनमा निस्कीएको व्यवसायी र सर्वसाधारणले मन्थली बजार परिक्रमा गरेका थिए ।

स्थानीय देवकोटा चोकमा भएको कोण सभामा व्यवसायीका अगुवाहरुले सर्वोच्चले आदेश नसच्चीए रामेछापबासी भोकभोकै मर्नुपर्ने बताए । जिल्लामा आवश्यक पर्ने करीब ७० प्रतिशत खाद्यान्न बीपी राजमार्ग हँदै भित्रिने गरेकोमा हाल उक्त मार्ग ठप्प हुँदा त्यसको असर जिल्लामा देखापरेको व्यवसायीहरुको भनाई छ ।

कमेन्ट गर्नुहोस्