जर्मनीविरुद्ध गोल गर्ने २२ वर्षिय ‘चकी’ को हुन् ?

रसियामा जारी विश्वकप अन्तर्गत आइबार राती भएको खेलमा मेक्सिकोले ऐतिहासिक जित निकाल्यो । ३३ वर्षपछि मात्रै मेक्सिकोले जर्मनीविरुद्ध जित निकालेको हो ।

डिफेन्डिङ च्याम्पियन जर्मनीलाई हराउँदा अहिले मेक्सिकोको व्यापक चर्चा छ । मेक्सिकोले जर्मनीलाई मस्कोमा भएको खेलमा १-० ले हराएको हो ।

जर्मनीसँग उसको यो समग्रमा १२ औँ भेट थियो । यसअघिका ११ भेटमा एक पटक मात्रै मेक्सिकोले जितको स्वाद चाख्न पाएको थियो, त्यो पनि ३३ वर्षअघि ।

मेक्सिकोको जितमा २२ वर्षिय हिरभिङ्ग लोजानो हिरो बने । उनले ३५ औँ मिनेटमा गरेको गजब गोल विश्वकपमा मेक्सिकोले जर्मनीमाथि दर्ता गरेको जितको सुखत इतिहास बन्यो ।

सन् १९९५ को जुलाई ३० मा जन्मिएका उनको निकनेम साथीहरुले ‘चकी’ राखेका छन् । उनै चकीले मेक्सिकोबाट आफ्नो २९ औँ खेलमा ८ औँ अन्तर्राष्ट्रिय गोल गरे र यो उनको पहिलो विश्वकप गोल पनि हो ।

उनी क्लब फुटबलमा पिएसभी एन्थोभेनबाट खेल्छन् । उनले गएको सिजन क्लबका लागि १५ गोल गरेका थिए । उनी खेलको म्यान अफ दि म्याच पनि भए ।

आइतबारको खेल विश्वकपमा यी दुई टोलीबिचको चौथो भेट थियो । यसअघिका दुई खेलमा सीधै हार र एक खेलमा मेक्सिको जर्मनीसँग पेनाल्टीमा हारेको थियो ।

तर रुस विश्वकपले मेक्सिकोको त्यो अधुरो वा अपूरो सपनालाई विपना बनायो, त्यो पनि जर्मनी साबिक विजेताका रुपमा प्रतियोगितामा रहेको वर्ष पहिलो खेलमै ।

कमेन्ट गर्नुहोस्