जीप दुर्घटनाः वडाध्यक्षसहित दुईको मृत्यु, पाँच घाइते

बाजुरा, असार १४ । जिल्लाको त्रिवेणी नगरपालिका पीपलसैनमा हिजो साँझ भएको जीप दुर्घटनामा त्रिवेणी नगरपालिका-१ का वडाध्यक्षसहित दुई जनाको मृत्यु भएको छ ।

बूढीगंगा नगरपालिकाको बाम्का बजारबाट छतारा जाँदै गरेको से १ ज ९९९ नं को जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा त्रिवेणी-१ का वडाध्यक्ष खम्म नेपाली र त्रिवेणी नगरपालिका-३ बस्ने एक महिला रहेका छन् । महिलाको भने नाम खुल्न सकेको छैन ।

जीप सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो । दुर्घटनामा परी त्रिवेणी नगरपालिका-३ का वीरबहादुर शाही, भीम नेपाली, रुपेन्द्र शाही, धनश्याम बुढा र जीप चालक चन्द्रमणि गम्भीर घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि बयालपाटा अस्पताल अछाम लगिएको छ । चिप्लो र उकालो सडक भएकाले चिप्लिएर दुर्घटना भएको हुने सक्ने प्रहरीको अनुमान छ ।
मृतक वडाध्यक्ष नेपाली नेपाली काँग्रेसको तर्फबाट विजयी भएका हुन् ।

कमेन्ट गर्नुहोस्