प्रहरी र तस्करबीच दोहोर फायरिङ, हतियार कारोबारी मारिए

राैतहट, असार १४ । रौतहटमा एक जना हतियार कारोबारी प्रहरी इन्काउन्टरमा मारिएका छन् । भारतबाट हतियार तस्करी गर्दै आएका एक समूहलाई पक्राउ गर्ने क्रममा दोहोरो फायरिङ हुँदा एक जना इन्काउन्टरमा मारिएका हुन् । मारिनेको नाम सनाखत हुन सकेको छैन । उनी भारतीय नागरिक हुन सक्ने बताइएको छ ।

जिल्लाको राजदेवी नगरपालिकामा पर्ने बाग्मती खोलाको किनारमा बिहिबार बेलुका करिब सवा १० बजे प्रहरी र हतियार कारोबारीबीच दोहोरो फायरिङ भएको थियो। घटनामा गोली लागेका एक कारोबारीको उपचारको क्रममा गौरमा मृत्यु भएको संघीय प्रहरी इकाई वीरगञ्जका एसएसपी तारिणी प्रसाद लम्सालले बताए।

घटनास्थलबाट बरामद भएकाे हतियार

तस्करी भइरहेको ठाउँमा गोप्य सूचनाका आधारमा प्रहरीको बिशेष टोली खटाएको थियो । प्रहरी आएको थाह पाएपछि तस्करले गोली चलाएका थिए । तीन जना व्यक्ति मोटरसाइकलमा आएको देखेपछि नियन्त्रणमा लिने प्रयास गर्दा तस्करले नै गोली चलाए, जवाफी फायरमा प्रहरीले गोली हान्दा एक जनाको मृत्यु भएको एसएसपी लम्सालले जानकारी दिए ।

घटनापछि केही समय सो क्षेत्र तनावग्रस्त भएको थियो। प्रहरीहरु सादा पोशाकमा गएकाले उनीहरु पनि अपराधी भएको आशंकामा स्थानीयले घेरेका थिए। पछि प्रहरीले मेयर र थप प्रहरीलाई बोलाएको थियो। गृह मन्त्रालयकै निर्देशनअनुसार हतियार कारोबारीविरुद्ध अप्रेसन तिब्र बनाइएको एसएसपी लम्सालले बताए।

कमेन्ट गर्नुहोस्