बाबुराम भट्टराईको धान दिवस

गोरखा । शुक्रबार असार १५ अर्थात् धान दिवसको अवसरमा देशभर रोपाईंका कार्यक्रम भए । विभिन्न कार्यक्रममा नेताहरुले समेत सहभागिता जनाए। केही नेता लामो पाइन्ट लगाएरै हिलोमा पसेर दुई गाँज धान रोपेर फर्किएका छन्। केही नेता भने दिनभर रोपाईंमा सक्रिय छन्।

पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई भने गोरखामा आयोजित एक रोपाईं कार्यक्रमको हली र बाउसे बनेका छन्।

आजको अन्नपूर्णमा प्रकाशित समाचार अनुसार गोरखाको सिरानचोक गाउँपालिका ५ मा आयोजित रोपाईं कार्यक्रममा सहभागी हुन पूर्वप्रधानमन्त्री भट्टराई गृहजिल्ला आएका हुन्। उनी रोपाईं कार्यक्रममा सहभागी भएका मात्र छैनन्। अन्य हली र बाउसे बराबर काम गरिरहेका छन्। अन्य नेताजस्तो पाइन्ट सुर्किएर बाबुराम हिलोमा पसेनन्। उनी टिसर्ट र कट्टु लगाएरै हिजोमा काम गरिरहेका छन्।

बाबुरामले रोपाईं कार्यक्रमको उद्घाटन मात्र गरेनन्। अनौ समातेर केही सियो खेत हिल्याए। बाउसेसमेत बनेका बाबुरामले केहीबेर रोपाहारसँगै पुगेर बिउसमेत काढ्न भ्याएका छन्। यसरी बाबुराम सक्रिय भएर भइरहेको रोपाइको आयोजना सिरानचोर गाउँपालिका र नयाँ शक्ति गोरखाले संयुक्त रुपमा आयोजना गरेको हो।

 

कमेन्ट गर्नुहोस्