चितवन निकुञ्जमा धमाधम भारतीय नागरिक पक्राउ, सुरक्षा व्यवस्था कडा

चितवन, असार १७ । चितवन राष्ट्रिय निकुञ्जका दुई ठाउँबाट नौ जना भारतीय नागरिक शंकास्पद रुपमा पक्राउ परेपछि निकुञ्जभित्र सुरक्षा व्यवस्था कडा पारिएको छ ।

वर्षाद्को समयमा चोरीशिकारी कम हुने भएकाले गस्ती कम गर्ने गरिन्थ्यो । तर यस वर्ष वर्षाद् शुरु भएसँगै गतसाता निकुञ्जको पश्चिमी सेक्टर ‘साईली माईली’मा सातजना भारतीय नागरिक पक्राउ परेका छन् । त्यसको केही दिनमै निकुञ्जको पूर्वी सेक्टर ‘सुनाचुरी’मा दुई जना भारतीय पक्राउ परेका हुन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले ‘साईली माईली’मा पक्राउ परेकाहरुले बाटो बिराएर छिरेको जनाएको र सुनाचुरीमा माछा मार्दै गर्दा पक्राउ परेको भए पनि शंकास्पद देखिएकोले उनीहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको बताए ।

ती क्षेत्रहरुमा हात्तीसहितको स्वीप अप्रेशन गर्ने काम भइरहेको उनले बताए । ती व्यक्तिको साथमा केही नभेटिए पनि उनीहरुले हातहतियार लुकाएको हुनसक्ने भन्दै पश्चिमी र पूर्वी सेक्टरमा दिनहुँजसो स्वीप अप्रेशन भइरहेको उनले बताए ।

‘साईली माईली’ भारतीय सीमा क्षेत्रमा रहेको वाल्मीकिनगरबाट झण्डै छ घण्टाको यात्रापछि मात्रै आइपुग्न सकिन्छ । ती व्यक्तिहरुले हराएको जनाए पनि यतिभित्र कसरी र कुन उद्देश्यसहित आइपुगे भन्ने बारे अनुसन्धान भइरहेको उनले बताए ।

ती व्यक्ति भारतको वाल्मीकि नगरका हुन् । पूर्वी सेक्टरमा पक्राउ परेका अवैधरुपमा माछा मार्दै गरेका भएकाले उनीहरुको गतिविधिका बारेमा पनि अनुसन्धान भइरहेको उनले बताए । पक्राउ परेकाहरुको बारेमा निकुञ्जले विस्तृत खुलाएको छैन । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले गतवर्षमा असारदेखि भदौसम्म गस्ती कम हुने भए पनि यसवर्ष सुरक्षा चुनौती देखिएपछि हिउँदका महिना जस्तै गरी निकुञ्ज सुरक्षाका काम भइरहेको बताए ।

निकुञ्जभित्र कतिपय ठाउँहरुमा वर्षातको समयमा गाडी नजाने भएपछि हात्ती र पैदल गस्तीलाई तीव्रता दिईएको छ । अर्यालका अनुसार मध्यवर्ती क्षेत्रमा भने गाडीको प्रयोग गरी निकुञ्ज पूरैलाई घेरामा राखेर गस्ती भइरहेको छ ।

विसं २०७३ साल चैत २६ गते यता निकुञ्जमा दुर्लभ एकसिंगे गैँडा मारिएको छैन । तस्करको चलखेल हुनसक्ने भन्दै निकुञ्जले गस्तीलाई वर्षभरी नै तीव्रता दिँदै आएको छ । -रासस

कमेन्ट गर्नुहोस्