खरो बन्दै महाथिर सरकार, समस्यामा अवैधानिक कामदार

क्वालालम्पुर । नयाँ सरकार बनेसँगै मलेसियामा कार्यरत अवैधानिक कामदारहरु संकटमा परेका छन् ।

‘रुखो प्रशासन र चोखो राजस्व’ को आक्रामक तयारी सहित ‘फिल्ड मार्शलमा’ उत्रिएको मलेसियाली प्रशासनको मुख्य निशाना अवैधानिक कामदार पनि हुन् ।

बिहानीले दिनको छनक देखाउँछ भनेझैँ ‘मोहमद महाथीर’को सरकारले निर्वाचित भएको पाँच दिनपछि नै ५० अर्ब डलर ‘कालो–धन’ जफत गरेको थियो। विमानस्थल र बन्दरगाहमा शिलबन्दी गरेर ‘भ्रष्ट मन्त्रीलाई पक्राउ, कमिशनखोर र माफियाहरूलाई घेराबन्दी लगायतका काम गरिसकेको महाथिर सरकारले १४४ जना ‘कालाबजारिया व्यापारीहरु’ लाई कारबाही समेत गरिसकेको छ।

त्यस्तै गत महिनामा ५० जना ‘भ्रष्टचारी न्यायाधीश र २०० बढी रिश्वतखोर पुलिस’ लाई जेल चलान समेत गरेको छ।

हाल अवैधानिक रुपले कार्यरत कामदारहरुलाई ‘धरपकडको चरण’मा प्रवेश गरेको यहाँको प्रशासनले विभिन्न कम्पनी तथा कामदार बस्ने आवासहरुमा छापा मारिरहेको छ । पक्राउ कार्यलाई जुलाई एक तारीख अर्थात आजैदेखि तीव्र बनाइने भएको मलेसियामा स्थिति प्रशासनले जनाएको छ।

मलेसियाले अवैधरुपमा बसिरहेका कामदारलाई आगामी अगस्टसम्ममा फर्किसक्न समय तोकेको थियो । यता मलेसिया स्थित नेपाली राजदूतावासले पनि गैरकानुनी रुपमा मलेसियामा बस्दै आएका नेपालीलाई यही समयभित्र स्वदेश फर्कन आग्रह गरेको छ ।

अहिले पनि हज्जारौंको संख्यामा नेपाली कामदारहरु अवैधानिक तरिकाले मलेसियाका विभिन्न स्थानमा कार्यरत छन् । नेपालबाट भिसा लगाएर आएको कम्पनिमा भने अनुसारको तलब सुविधा नहुँदा नेपाल लगाएत अन्य देशका कामदारहरु अवैधानिक बन्ने गरेका छन् ।

यसअघि बेला–बखतमा यहाँको सरकारले वैधानिक हुन वा घर फर्किन समय दिने गरेको थियो। तरपनी आफ्नो आग्रहको बेवास्ता गरेको भन्दै मलेसियाको नयाँ सरकारले आइतबारदेखि उनीहरुलाई पक्राउ गर्न अभियान नै चलाउन लागेको हो।

वैधानिक हुन र घर फर्किने योजनामा सामेल नहुने कामदार सहित उनीहरुका रोजगारदातालाई पनि कारबाही गरिने मलेसिया सरकारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्