धावक हरि रोकायाको उपचारका लागि कर्णाली सरकारको सहयोग

काठमाडौं, असार १७ । नेपालका धावक हरिबहादुर रोकायाको स्वास्थ्य उपचारका लागि कर्णाली प्रदेश सरकारले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

शनिबार बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले अस्पतालमा उपचाररत गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका नेपालका महान धावक रोकायाको उपचारका लागि एक लाख रुपैया आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको मन्त्री भण्डारी बताएका छन् ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले आफ्ना देशका महान र क्षमतावान खेलाडीले वेवास्ता गर्ने र सीमापारीकाको गुनगान गर्ने संस्कारप्रति दुखेसो पोखेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘हरि हाम्रा मेसी हुन, उनी रोनाल्डो, पेले अनि म्याराडोना पनि हुन् । हाम्रा वास्तविक नायक हुन्, हरि । तर, उनको नायकत्वलाई हामीले स्वीकार गर्न कन्जुस्याइँ गरिरह्यौं । सिमाना पारिका खेलाडीहरूको प्रशंसामा हामी लठ्ठीइरह्यौं ।’

कर्णाली अनि नेपालीको शिर उचो राख्न सफल म्याराथुन दौडका धावक रोकायाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।

भण्डारीले यो सहयोग अन्तिम नभएको पनि बताएका छन् । उनले लेखेका छन, ‘यो सहयो प्रारम्भिक हो, अन्तिम होइन । आवश्यक थप सहयोगका लागि कर्णाली सरकार सधै सकारात्मक छ ।’

कमेन्ट गर्नुहोस्