महिलाको शरीरका रौँ देखाएर भाइरल भयो यो विज्ञापन (भिडिओ सहित)

सलक्क परेका पिँडुला, चिल्ला नाडी र पाखुरा र रौँ विहिन, चिल्लो संगमरमर जस्तो शरीर । वर्षौं देखि यस्तै मानकहरू उभ्याइएका छन् नारी सौन्दर्यको बारेमा ।

तर सत्य के हो भने रौँ सबैको शरीरमा हुन्छन् । यो सामान्य कुरा हो । तर पनि यसलाई सदैव सौन्दर्यसँग जोडेर हेरिने गरिएको हुँदा विशेष गरी महिलाको शरीरमा रौँ नै नहुने जस्तो गरी विज्ञापन गरिएका उत्पादहरूले भने एक प्रकारको भ्रम नै सिर्जना गरिरहेका हुन्छन् ।

आजसम्म कुनै पनि सौन्दर्य प्रशाधन यस्तो बनेको छैन जसले कपाल बाहेक शरीरका अन्य अङ्गहरूका रौँलाई सकारात्मक दृष्टिले हेर्ने बनाइ देओस । त्यसैले त अर्धनग्न सिनेकलाकरहरू हेर्नुहोस् न उनीहरूको शरीर कति चिल्लो देखाइएको हुन्छ ।

हुँदा हुँदा अचेल त पुरुष कलाकारहरूको शरीर समेत रौँ विहीन र चिल्लो देखाइएको हुन्छ । तर शायद आधुनिक समयमा विज्ञापनको प्रचलन चले यता पहिलोपल्ट एउटा अमेरिकी कम्पनीले रेजरको विज्ञापन गर्ने क्रममा शरीरमा रौँ भएकी महिला देखाएको छ र यसले सौन्दर्य सम्बन्धि नयाँ बहसको थालनी हुने संकेत देखिएको छ ।

हुन त महिलाहरूलाई शरीरको रौँहरू सेभिङ गरिराखेको देखाइनु कुनै क्रान्तिकारी दृश्य होइन ।  तर यो सम्भवतः पहिलो विज्ञापन हो जसमा महिलाको शरीरमा समेत रौँ देखाइएको छ ।  अन्यथा सबै विज्ञापनहरूमा मोडेलहरूले शरीरका रौँहरूलाई खौरिएकी हुन्छिन् ।

यस विज्ञापनलाई अमेरिकाली रेजर ब्राण्ड बिलीले तयार पारेको हो । उसका अनुसार पछिल्लो १०० वर्ष यता महिलाको शरीरमा रौँ देखाइएको यो नै पहिलो विज्ञापन हो त्यसैले यो भाइरल भइसकेको छ ।

सामाजिक संजालमा महिलाहरूले यस विज्ञापनको समर्थन गरेका छन् र उनीहरूले खुट्टाको बुढी औंलामा आएका रौँ, काखी मुनिका रौँ, बाक्ला आँखी भौं र पेटमा आएका रौँहरू देखिने गरेर तस्बिरहरू पोस्ट गरिराखेका छन् ।

कम्पनीले यस विज्ञापनका साथै एउटा अनलाइन अभियान समेत सुरु गरेको छ जसको उद्देश्य कुनै पनि महिलालाई उनको प्राकृतिक स्वरूपमा नै स्वीकार गरिनु पर्दछ भन्ने संदेश दिनु रहेको छ ।

तर केही व्यक्तिहरूले भने रेजर ब्राण्डले शरीरजका औँहरूलाई लिएर हुने भ्रान्तिहरू कम गर्ने कुरा गर्नु आफैँमा अमिल्दो भएको बताएका छन् ।

अमेरिकी वेबसाइट स्लेटकी लेखिका रसेल ह्याम्प्टन भन्छिन्,’के रेजर बनाउने कम्पनीले साँच्चै शरीरमा रौँ आउनु खराब होइन भन्ने संदेश दिन खोजेको हो त ?’

त्यसको प्रत्युत्तरमा बिली कम्पनीले भनेको छ यदि तपाईंलाई यी रौँ खौरनु नै पर्छ भन्ने लाग्छ हामी हाजिर छौँ ।

फेसबुक र इन्स्ग्राटाममा भाइरल भिडियो:

विज्ञापनको अन्त्यमा महिलाहरूले आफ्नो शरीरका सबै रौँहरू खौरनु आवश्यक नरहेको भन्ने संदेश समेत दिन खोजिएको छ ।

बिली कम्पनीकी संस्थापक गोर्जिना गुली भन्छिन्, “आफ्नो शरीरमा उम्रेका रौँहरू के गर्ने भन्ने विषयमा लुनै पनि व्यक्तिको व्यक्तिगत मामिला हो र यसको सम्मान गरिनु पर्दछ । विशेष गरेर महिलाहरूलाई कसैले शरीरका रौँहरूलाई के गर्ने भन्ने कुरा बताउनु आवश्यक छैन ।”

उनी भन्छिन्, “हामीहरूमध्ये कतिपयले यी रौँहरू हटाउन चाहन्छन् र कतिपयले शानका साथ रक्खं चाहन्छन् ।  यो व्यक्तिगत चाहना हो र यसमा लज्जित हुनुपर्ने या माफी नै मागिहाल्नु पर्ने कुनै कारण छैन । ”

 

कमेन्ट गर्नुहोस्