आत्मघाती बम आक्रमणमा १९ जनाको मृत्यु

अफगानिस्तानको जलालाबादमा आत्मघाती बम आक्रमण हुँदा कम्तिमा १९ जनाको ज्यान गएको छ । अफगानिस्तानको पूर्वी शहर जलालाबादमा अल्पसंख्य शिख समुदायको बसोबास रहेको क्षेत्रमा आत्मघाती बम आक्रमण भएको बिबिसीले उल्लेख गरेको छ । ज्यान गुमाउनेमा अधिकांश शिख समुदायका मानिस छन् ।

नान्गार्हार प्रान्तमा राष्ट्रपति अशरफ घानीसँग भेट गर्न गइरहेका बेला बसमा आत्मघाती बम आक्रमण भएको हो । बसमा सवार सबै आउँदो अक्टोबरमा हुने संसदीय चुनावमा उम्मेदवारका आकांक्षी रहेको प्रहरीले जनाएको छ । बिद्रोही संगठन इस्लामिक स्टेट, आइएसले आक्रमणको जिम्मा लिएको छ ।

आक्रमणको केही घण्टाअघि मात्रै राष्ट्रपति घानीले जलालाबादमा एक अस्पतालको उद्घाटन गरेका थिए । उनी दुई दिने नान्गार्हार प्रान्तको भ्रमणमा थिए । आत्मघाती आक्रमण भएको क्षेत्रमा त्यसबेला राष्ट्रपति थिएनन् । -एजेन्सी

कमेन्ट गर्नुहोस्