२०१० को विश्वकप जितका ‘नायक’ इनिएस्टाले संन्यास लिए !

मस्को । स्पेनका एक ३४ वर्षीय फुटबल खेलाडीले संन्यास लिएका छन् । जारी विश्वकपमा आइतबार रुससँग पराजित भएसँगै स्पेनका आन्द्रेस इनिएस्टाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

आइतबार राति भएको खेलको निर्धारित तथा अतिरिक्त समयमा पनि १-१ को बराबरी भएपछि पेनाल्टी सुटआउटबाट भएको खेलमा स्पेन आयोजक रुससँग पराजित भयो । निकै राम्रो खेलेर पनि स्पेनले जित निकाल्न सकेन । सन् २०१० मा विश्वकपमा स्पेनलाई उपाधि दिलाउने क्रममा विजयी गोल गरेका इनिएस्टाले रुससँगको हारसँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।

इनिएस्टाले रुससँगको खेलमा भएको पेनाल्टी सुटआउटमा स्पेनबाट १३१ औँ गोल गरे । इनिएस्टाले भने, ‘राष्ट्रिय टिमबाट मेरो यो अन्तिम खेल हो र यहि सत्य हो ।’

सन् २००६ मा डेब्यु गरेको इनिएस्टाले स्पेनलाई सन् २००८ र २०१२ मा युरोकपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनी १२ वर्ष स्पेनको टिममा रहे । ‘यो अन्त्य चाहेको जस्तो त भएन’, बार्सिलोनाका पूर्व खेलाडी इनिएस्टाले भने, ‘यो मेरो करिअरको अति नै निशास दिन बन्यो ।’

इनिएस्टाले बार्सिलोनासँगको आफ्नो २२ वर्ष लामो यात्रा गएको मे मा अन्त्य गरेका थिए । उनी अहिले जापानको शीर्ष लिग क्लब भिसेल कोबेबाट खेल्छन् । बार्सिलोनाबाट उनले सिनियर लेभलमा ६७४ खेलमा प्रतिनिधित्व गरे र ३२ प्रमुख उपाधि जिते । उनी १२ वर्षको हुँदा बार्सिलोना गएका थिए । स्पेनका प्रशिक्षक फर्नान्डो हिएरोले इनिएस्टा स्पेनको इतिहासमा एक महान खेलाडी रहेको बताए । -एजेन्सी

कमेन्ट गर्नुहोस्