लोपेजलाई ट्रंपको बधाई, कस्तो होला अमेरिका-मेक्सिको सम्बन्ध ?

मेक्सिको सिटी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रंपले मेक्सिकोका नव निर्वाचित राष्ट्रपति लोपेज ओब्राडोरलाई बधाई दिएका छन । वामपन्थी लोपेज सत्तामा आएपछि अमेरिकासँग मेक्सिकोको सम्बन्ध के हुने भन्नेबारे थरीथरी अनुमान लगाउन थालिएका छन् ।

राष्ट्रपति ट्रंपले आज एक ट्विटमार्फत लोपेजलाई बधाई दिएका हुन् । राष्ट्रपति ट्रंपले ट्विटमा आफू लोपेजसँग मिलेर काम गर्न इच्छुक रहेको बताएका छन् ।

वामपन्थी झुकाव भएका लोपेज ट्रंपको नीतिका कटु आलोचक मानिन्छन् ।  तर विश्लेषकहरूले उनको स्वभाव धेरै हदसम्म ट्रंपसँग मिल्ने टिप्पणी गर्ने गरेका छन् ।

उनी राजनैतिक मुद्दाहरूमा ट्रंपले जस्तै कटु टिप्पणी गर्नका लागि चर्चित रहेका छन् । नवनिर्वाचित राष्ट्रपति लोपेजको काँधमा मेक्सिकोको अर्थतन्त्र सुधार्ने मात्र होइन भ्रष्टाचार नियन्त्रण र संगठनिक अपराध र माफियामाथि नियन्त्रण उनका चुनौती हुनेछन् ।

राष्ट्रपति ट्रंपको आप्रवासी विरोधी नीतिलाई ‘गैरजिम्मेवार’ र ‘नश्लवादी’ भनेर आरोप लाउने गरेका लोपेज सत्तामा आएपछि दुई देशबिचको सम्बन्धमा महत्वपूर्ण मोड आउने आकलन गरिएको छ ।

डोनल्ड ट्रंपले ‘अमेरिका पहिले’को नीति थालेको पृष्ठभूमिमा उनको विजयलाई अर्थपूर्ण रूपमा हेरिन थालेको छ ।

राष्ट्रपति ट्रंपको मेक्सिकोको सीमानामा पर्खाल लगाउने परियोजना मेक्सिकोमा समेत आलोचित बन्दै आएको छ ।

केही दिन अगाडि २ हजार भन्दा बढी बच्चाहरूलाई तिनका आप्रवासी आमाबुवाबाट अलग गरिएपछि यस नीतिको खुलेर विरोध हुँदै आएको छ ।

आफ्नो विजय वक्तव्यका क्रममा लोपेजले संयुक्त राज्य अमेरिकासँग मित्रता र सहकार्यको सम्बन्ध जारी रहने बताएका छन् । उनका अनुसार, ‘यो सम्बन्ध पारस्परिक सम्मान र अमेरिकामा सम्मानपूर्वक बसोबास तथा काम गरिराखेका मेक्सिकन जनताको सुरक्षाको जगमा आधारित हुनेछ ।’

को हुन लोपेज?

एन्द्रियाज म्यानुएल लोपेज ओब्राडोर मेक्सिकोको दक्षिणी राज्य टाबास्कोको ग्रामिण समुदायमा १३ नोभेम्बर १९५३ मा जन्मिएका हुन् । उनका पिता पेसाले पसले थिए । उनी ‘अल्मो’ नामले चर्चित थिए । यो नाम उनको पुरा नामका पहिला अक्षरहरू राखेर बनाइएको छोटो रुप हो ।

सन् २००० मा मेक्सिको सिटीको नगरप्रमुखमा निर्वाचित भएपछि उनी राजनैतिक वृत्तमा चम्किन थालेका हुन् । उनी २००६ र २०१२ को राष्ट्रपति निर्वाचनमा पराजित भएका थिए ।  यस पटक पनि उनी वामपन्थी दल ‘नेसनल रिजेनेरेसन मुभमेन्ट पार्टी (मोरेना)बाट उम्मेदवार बनेका थिए । यस दलको स्थापना उनले २०१४मा गरेका थिए । यस निर्वाचनमा उनलाई अन्य दुई दलको समेत समर्थन रहेको छ ।

उनको यो विजय १९८० यता सबैभन्दा बढी मतान्तरको विजय हो  । यसका पछाडि पूर्ववर्ती सरकारप्रति जनताको असन्तुष्टि प्रमुख कारण मानिएको छ ।

यसका अतिरिक्त भ्रष्टाचार र अपराध त्यहाँका प्रमुख समस्या मानिन्छन् । गत वर्ष मात्रै गत वर्ष मात्रै त्यहाँ रेकर्डस्तरमा हत्याहरू भएका थिए । त्यहाँ यसका अतिरिक्त अपहरण र लागु औषध कारोबार समेत ठुलो मात्रामा हुने गर्दछ ।

यी तथ्यहरूलाई हेर्दा ओब्राडोरको विजयपछिको बाटो त्यति सहज भने छैन ।  उनको काँधमा आम जनताका असीमित आकांक्षाहरूको भारी रहेको छ ।

मेक्सिकोमा वाम-विजय, लोपेज ओब्राडोर दोब्बर बढी मत ल्याएर बने राष्ट्रपति

कमेन्ट गर्नुहोस्