वडा अध्यक्षले जोगाए बग्दै गरेकी महिलाको ज्यान

सिरहा, असार १९ । सिरहामा वडा अध्यक्षले खोलामा बग्दै गरेकी एक महिलाको ज्यान जोगाएका छन् । जिल्लाको गोलबजार नगरपालिका वडा नं. ३ का अध्यक्ष धनप्रसाद लामाले सोही नगरपालिकाकी ४० वर्षीया बिना योञ्जनको ज्यान जोगाएका हुन् । गोलबजारमा खोलामा बग्दै गरेको अवस्थामा देख्दा वडाध्यक्ष लामालले ती महिलाको उद्धार गरेका थिए ।

बाढीमा करिब दुई किलोमिटर बगेकी बिनाको उद्धारपछि गोलबजारस्थित हेल्थ केयर सेन्टरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार योञ्जनको अवस्था अहिले खतरामुक्त रहेको रहेको छ।

उक्त वडाको विकट मानिने जरुवाबाट विकास निर्माणको योजना अनुगमन गरेर घर फर्किने क्रममा वडाध्यक्ष लामा बाटोमा पर्ने बूढी जमदह खोलामा सोमबार मध्याह्न बाढी आएपछि पारीपट्टि नै रोकिएका थिए। पछिल्लो तीन दिनदेखि लगातार परेको वर्षाका कारण सिरहाका विभिन्न स्थानको जनजीवन प्रभावित भएको छ।

कमेन्ट गर्नुहोस्