महाकाली नदीले तटबन्धको ‘स्पर’ भत्कायो

कञ्चनपुर, असार १९ । तीन दिनदेखि अबिरल रुपमा परिरहेको वर्षाका कारण महाकाली नदीले कञ्चनपुरमा निर्माणाधिन तटबन्धको ‘स्पर’ भत्काएको छ । महाकाली नदीमा पानीको वहाव बढ्दै गएपछि भीमदत्त नगरपालिका-१२ ओदालीमा बाँधिएको तटबन्धको ‘स्पर’ भत्काएको हो ।

ओदालीका स्थानीय शेर बहादुर देउवाले महाकाली नदीको सतह बढेपछि स्पर भत्काएको बताए । उनका अनुसार मंगलबार बिहादेखि एक स्पर पुरै भत्काएको छ, भने अर्को स्पर भत्काउन लागेको छ ।

‘नदीले तारजालीको भित्रबाटै ढुङ्गा बगाएर लागेको छ, ‘उनले भने, ‘बाँध नै भत्किए पुरै महाकाली गाँउ पस्ने खतरा छ ।’ जनताको तटबन्ध कार्यालय कञ्चनपुरका प्रमुख प्रचण्ड विष्टले लन्चिङ्ग अप्रोन भत्किएको हुनसक्ने बताए । ‘अहिले महकालीमा पानीको बहाव बढि छ, ‘उनले भने,‘स्थलगत अनुगमन गरेर पुर्ननिर्माण गछौँ ।’

उनका अनुसार भीमदत्त नगरपालिका ११ र १२ मा केएस कन्सष्ट्रक्सनले १३ करोडमा १ सय ७९ मिटर तटबन्धको निर्माण गर्ने जिम्मा पाएको थियो । ठेक्काको गत बैशाखमै सम्झौता सकिएपनि निर्माण कम्पनीले भुक्तानी नपाएका कारण देखाउदै काम रोकेकाले स्पर भत्किन लागेको स्थानीयको गुनासो छ ।

चालु वर्ष महाकाली नियन्त्रणका लागि ५६ करोडको टेण्डर आह्वान भएपनि निर्माण कम्पनीले समयमै सरकारले भुक्तानी नगरेको भन्दै काममा आलटाल गरेका थिए । जसका कारण आज महाकाली नदी नियन्त्रणमा समस्या भएको स्थानीयको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लगातार वर्षाभएपछि महाकाली क्षेत्रमा सुरक्षाकर्मी हाईअलटमा राखेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएपी ज्ञान बहादुर सेठीले नदीको वहावले तटबन्धका जारजाली बगाएको बताए ।

उक्त स्थानमा पानी घटेपछि पुर्ननिर्माण गरिने उनले बताए । मंगलबार बिहान १० बजेसम्म महाकाली नदीको १ लाख ४७ हजार क्युसेक पानीको सतह पुगेको छ । सोमबारदेखि भारतीय पक्षले बनबासा पुलमा ठूला सवारी साधनमा रोक लगाएको छ । पुल सुरक्षाका लागि भन्दै भारतीय पक्षले बनबासा पुलमा पैदल, साईकल र मोटरसाईकल बाहेक अन्य ठुला सवारी साधन आवागमनमा रोक लगाएको हो । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्