वर्तमान सरकार सामन्ती र शोषक : पूर्व प्रधानन्यायाधीश कार्की

काठमाडौं, असार १९ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले सरकारको कडा रुपमा आलोचना गरेकी छन् । वर्तमान सरकार सामान्ती र शोसक भएको उनको आरोप छ ।

डा. गोविन्द केसी समर्थकले मंगलबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्कीले भनिन्, ‘गोविन्द केसी गरीबका छोरा छोरी र दूरदराजका जनताको लागि लडेका छन् । के यो नाजायज हो ? यदि माथेमा प्रतिवेदन विपरित व्यापारी र मुनाफामुखी चिकित्सा शिक्षा विधेयक प्रतिस्थापन गर्दै हुनुहुन्छ भने तपार्इ सामान्ती र शोषक हो।’

साथै कार्कीले राजधानीको विभिन्न ठाँउमा शान्तिपूर्ण आन्दोलन गर्न रोक लगाइएकोमा समेत विरोध जनाइन । पत्रकार सम्मेलनमा बोल्दै डा. केदारभक्त माथेमाले चिकित्सा शिक्षाको गुणस्तर पहुँचको कुरालाई वैज्ञानिक रुपमा उठाएर आफूहरुले प्रतिवेदन तयार पारेको बताए ।

डा. केसीका मागलाई सम्बोधन गर्न र चिकित्सा स्वास्थ्य शिक्षामा देखिएका समस्या समाधनका लागि सुझाव दिन गठित आयोगका अध्यक्ष समेत रहेका माथेमाले भने, ‘हामीले चिकित्सा शिक्षाको गुणस्तर तथा पहुँच सबै जनताले पाउन् भन्ने आधारमा प्रतिवेदन तयार गरेका थियौं । काठमाडौंमा धेरै मेडिकल कलेजहरु भएकाले १० नयाँ कलेज खोल्न नहुने, क्षेत्रीय सन्तुलन मिलाउन पनि उपत्यका बाहिर मेडिकल कलेज खोल्नु पर्ने जस्ता कुरा प्रतिवेदनमा उठाइएको थियो।’

प्रतिस्थापन गर्न लागिएको चिकित्सा शिक्षा विधेयक माथेमा प्रतिवेदनको मर्म र डा केसीसंग भएका सम्झौता विपरित रहेको अधिवक्त्ता ओमप्रकाश अर्यालले बताए।

कमेन्ट गर्नुहोस्