मलेसियामा महाथिरको महा-एक्सन, पूर्वप्रधानमन्त्री नाजिव गिरफ्तार

मलेसिया, असार १९ । मलेसियाका पूर्वप्रधानमन्त्री नाजिव रज्जाकलाई भ्रष्टाचार आरोपमा अनुसन्धान गर्न मंगलबार पक्राउ गरिएको दि सिड्नी मर्निङ हेराल्डले जनाएको छ।

१५ वर्षपछि दोस्रो पटक सत्तारोहण गरेका ९३ वर्षीया प्रधानमन्त्री महाथिर महोम्मदले सत्ता समाले लगत्तै पूर्वप्रधानमन्त्री नाजिवविरुद्ध सरकारी कोषबाट अर्बौ रुपैया हिनामिना गरेको आरोपमा अनुसन्धान शुरु गरिएको थियो ।

तर त्यसअघि तत्कालीन प्रधानमन्त्री नाजिबलाई सफाई दिइएको थियो । महाथिर प्रधानमन्त्री बन्ने लगत्तै उनलाई देश छोड्न रोक लगाइएको थियो ।

महाथिर हालै सम्पन्न निर्वाचनमा नाजिवलाई पराजित गर्दै प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। नाजिव महाथिरले स्थापना गरेको पार्टीका नेता थिए। मलेसियामा बढ्दो भ्रष्टाचारसँगै महाथिरले नाजिवविरुद्ध नयाँ पार्टी स्थापना गरी उम्मेदवार बनेका थिए ।

निर्वाचनमा पराजित भएसँगै नाजिवले युनाइटेड मलाय नेसनल अर्गनाइजेनको अध्यक्षबाट राजिनामा दिएका थिए। यो मलेसियाको सबैभन्दा ठूलो तथा बेलायतबाट सन् १९५७ मा स्वतन्त्र भएपछि शासनमा रहेको पार्टी हो।

उनी पक्राउ परेसँगै मलेसियाको अध्यागमन विभागले उनीसँगै उनकी श्रीमती रोसमा मन्सुरलाईसमेत देश छाड्न रोक लगाएको छ।

अमेरिकी अनुसन्धानकर्ताहरुले नाजिवको कम्पनीले ४.५ अर्ब डलर लुटेको तथा ६८१ मिलियन डलर नाजिबको बैंक एकाउन्टमा फेला परेको र ३० मिलियन डलर बराबरको रकमले उनकी पत्नीले गहना किनेको दाबी गरेको थियो।

नाजिवले भने आफूले कोषको कुनै दुरुपयोग नगरेको दाबी गरेका थिए। उनले आलोचना गर्ने महान्यायाधिवक्ता र उपप्रधानमन्त्रीलाई समेत बर्खास्त गरेका थिए। त्यसपछि सन् २०१६ मा नियुक्त भएको महान्यायाधीवक्ता मोहमद अपाण्डि अलीले उनलाई निर्दोष भन्दै सो रकम साउदीको शाही परिवारबाट अनुदानमा प्राप्त भएको र अधिकांश फिर्ता पठाइएको बताएका थिए।

कमेन्ट गर्नुहोस्