१० दिनपछि पायो गुफाभित्रको फुटबल टोलीले खाना र औषधि

थाइल्याण्ड । थाइल्याण्को एक गुफामा ९ दिनपछि सकुशल भेटिएको फुटबल टोलीले १० दिनमा बल्ल खाना र औषधि पाएको छ । उनीहरुलाई सोमबार साँझ गुफामा जीवितै भेटिएका थिए । अहिले उनीहरुको उद्धार गर्ने प्रयास भइरहेको छ । बाढीको पानी गुफामा पसेकाले उनीरुको उद्धारमा कठिनाइ भएको छ । १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक गएको जुन २३ मा प्रशिक्षण सकेर गुफा हेर्न गएका थिए ।

चिएङ्ग राईमा रहेको थाम लुङ्ग गुफा गएका उनीहरु गुफामा बाढीको पानी पसेका कारण बाटो निकस्ने बाटो बन्द हुँदा फसेका थिए । डाक्टर तथा नर्ससहित खोजी अभियानका सात सदस्य गुफामा पुगेका छन् । उनीहरुले फसेका बालक तथा उनीहरुका प्रशिक्षकलाई १० औँ दिनमा खाना तथा औषधि दिन सफल भएका छन् ।


उनीहरुलाई सुरक्षित रुपमा बाहिर निकाल्नका लागि उद्धारकर्मीले सम्भावित विकल्प बारे छलफल गरिरहेका छन् । गुफामा बाढीको पानी नपुग्ने ठाउँ खोजेर उनीहरु बच्न सफल भएको उद्धारकर्मीले बताएका छन् । गुफा भित्र रहेको पानी बाहिर निकाल्ने प्रयास भइरहेको छ । फसेका व्यक्तिसम्म खाना तथा औषधि लैजान निकै समस्या भएको थियो । गुफामा टेलिफोनको व्यवस्था गरिएको छ । फसेका बालकले आफ्नो परिवारका सदस्यसँग कुरा गरेका छन् ।

यसअघि थाइल्याण्डको सेनाले बालकहरुलाई बाहिर निकाल्नका लागि पौडिन जान्नु पर्ने वा बाढीको पानी सकिने बेलासम्म पर्खिनु पर्ने बताएको थियो । गुफामा गएको बाढीको पानी सकिन लगभग तीन चार महिना लाग्छ । उद्धारकर्मीले उनीहरुलाई सुरक्षित निकाल्नका लागि विभिन्न उपायको खोजी गरिरहेका छन् । त्यो असफल भएमा उनीहरुका लागि गुफामा चार महिनाको खाना पठाइने सेनाले जनाएको छ । -एजेन्सी

कमेन्ट गर्नुहोस्