कैलाश मानसरोवर गएका ८ तीर्थयात्रीको मृत्यु, ६ सय जना अलपत्र

सुर्खेत, असार २१ । कैलाश मानसरोवर गएका ८ भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार केही दिनको अन्तरमा ‘हाइ अल्टिच्युड’ र लडेर यात्रुको मृत्यु भएको हो । खराब मौसमका कारण सयौं अलपत्र छन् ।

नेपाल-चीन सीमा हिल्सामा करिब साढे चार सय र हुम्ला सदरमुकाम सिमकोटमा ६ सय २९ तीर्थयात्री रोकिएका छन् । बुधबार मौसम सुध्रेपछि तीन सय १० जनालाई नेपालगन्ज झारिएको छ । भारतीय दूतावासको खर्चमा नेपाली सेनाको हेलिकप्टरले दुई फ्लाइट गरी यात्रीलाई नेपालगन्ज झारेको थियो ।

निजी कम्पनीका हेलिकप्टर र हवाईजहाजले पनि अलपत्र तीर्थयात्रीको उद्धार गरेको सिमकोटमा रहेका सिम्रिक एयरका कर्मचारी कमल गौतमले बताए । उनका अनुसार शनिबारदेखि मौसम खराब भएपछि मानसरोवर जाने र फर्किने यात्रु अलपत्र परेका थिए । लेक लागेर र अन्य कारणले यस वर्ष ८ तीर्थयात्रीको मृत्यु भएको छ ।

हुम्ला जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार भारत, केरलाका ५६ वर्षीय लिमान्दृडाय नारायणनको सिमकोटस्थित होटलमै मृत्यु भएको छ । मानसरोवर दर्शनपछि होटलमा सुतिरहेको अवस्थामा उनको मृत्यु भएको डीएसपी रवीन श्रेष्ठले जानकारी दिए । सोही दिन भारत, आन्ध्र प्रदेशकी सल्यलक्ष्मीको तिब्बतको ताक्लाकोटमा मृत्यु भएको थियो ।

केरुङ नाका हुँदै कैलाश पुगेकी भारत, महाराष्ट्र निवासी विनिता सञ्जय खेडेकरको आइतबार परिक्रमा गर्ने क्रममा लेक लागेर मृत्यु भएको थियो । अन्य दुईको पनि लेक लागेर मृत्यु भएको ट्राभल व्यवसायीले जनाए । मानसरोवर यात्रा गराउँदै आएको सम्राट ट्राभल्सका सीएन पाण्डेका अनुसार उनको कम्पनीमार्फत मानसरोवर गएका एक जनाको घोडाबाट लडेर मृत्यु भएको छ । उनका अनुसार गत वर्ष २० जनाको मृत्यु भएको थियो ।

अहिलेसम्म हिल्सा नाका भएर करिब ६ हजार ६ सय तीर्थयात्रीले कैलाश दर्शन गरेका छन् । वैशाख तेस्रो सातादेखि सुरु भएको कैलाश मानसरोवर यात्रा असोज मध्यसम्म चल्ने गर्छ । अझै तीन महिना बाँकी रहेको र चिसो पनि बढ्ने सम्भावना भएकाले तीर्थयात्रीसामु जोखिम यथावतै छ । -कान्तिपुरमा खबर छ ।

कमेन्ट गर्नुहोस्