सत्तापक्षकै नेता भन्छन्,-‘सरकारको काम प्रभावकारी हुन सकेन’

काठमाडौं, असार २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा सरकारका कामको चर्को आलोचना भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारका निर्णय र कामबारे प्रश्न उठाइरहेका बेला नेकपाभित्रबाटै पहिलोपटक आलोचना भएको हो ।

केन्द्रीय सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा सरकारको कामबारे प्रश्न उठेको बताए । ‘सरकारको कामबारे पनि छलफल भएको थियो,’ उनले भने, ‘केन्द्र र प्रदेश सरकारबीचको समन्वय, मन्त्रीहरूको कामका विषयमा अर्को बैठकमा छुट्टै छलफल गरिनेछ ।’ प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बसेको स्थायी समिति बैठकमा चीन भ्रमणको ब्रिफिङ, सरकारको काम, पार्टी विधान र नियमावलीमा केन्द्रित रहेर छलफल भएको थियो ।

बैठकमा सरकारको कामको आलोचना भएपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले त्यसैमा केन्द्रित रहेर छलफल गर्न छुट्टै बैठक डाकिने जानकारी गराएर बैठक समापन गराएका थिए । अध्यक्ष ओलीको चीन भ्रमणसम्बन्धी ‘ब्रिफिङ’बाट सुरु भएको बैठक अर्का अध्यक्ष प्रचण्डले समापन गरेका थिए ।बैठकमा प्रदेश र जिल्ला कमिटी एकीकरण कार्यदलमा रहेका स्थायी समितिका अधिकांश नेताले विधानमा प्रस्ताव गरिएको कमिटीको संख्या बढाउन माग गरेका छन् । नेकपाको विधानमा प्रदेश कमिटी १ सय ७५ तथा जिल्ला कमिटी १ सय २५ सदस्य बनाउन प्रस्ताव छ ।

क-कसले गरे आलोचना ?
बैठकमा नेताहरू भीमबहादुर रावल, अमृतकुमार बोहरा, युवराज ज्ञवाली, रघुजी पन्तलगायत करिब एक दर्जन नेताले सरकारको आलोचना गरेका हुन् । सरकारको काम जनताले दैनिक जीवनमा प्रत्यक्ष अनुभूति गर्ने गरी प्रभावकारी हुन नसकेको उनीहरूको टिप्पणी थियो ।

बजेटले सकारात्मक प्रभाव पार्न नसकेको, बजेटलगत्तै बढेको कालोबजारी नियन्त्रण गर्न नसकेको, कालोबजारी गर्नेमाथि कारबाही गर्ने सवालमा आपूर्तिमन्त्रीले कुनै प्रभावकारी कदम चाल्न नसकेको, सरकारको काममा मन्त्री-मन्त्रीहरूबीच नै समन्वय नदेखिएको उनीहरुको भनाई थियो ।

यातायात क्षेत्रको सिन्डिकेट तोडेर सरकारले राम्रो सुरुवात गरे पनि निरन्तरता दिने सवालमा गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्रीबीच आपसी समन्वय नहुँदा नकारात्मक सन्देश गएको स्थायी समिति सदस्यहरूको भनाइ थियो ।

कतिपय नेताले प्रदेशहरूमा पनि बजेटका विषयलाई लिएर आलोचना भइरहेको विषय पनि उठाए । उनीहरूले प्रदेश र केन्द्र सरकार तथा प्रदेश सरकार र पार्टीको संसदीय दलबीच नै राम्रो समन्वय नरहेकोमा ध्यानाकर्षण पनि गराए । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्