निषेधाज्ञा जारी गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं, असार २२। सर्वोच्च अदालतले माइतीघर मण्डललगायत काठमाडौं उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले आज यही असार २९ गतेसम्मका लागि अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा सो दिन दुवै पक्षलाई छलफलका लागि बोलाउने मिति तय गरिएको छ । अदालतले सो स्थानमा निषेधाज्ञा जारी गर्नुपर्नाका कारण लिखित जवाफ दिन समेत भनेको छ ।

सरकारले केही स्थानमा निषेधाज्ञा जारी गरेर अभिव्यक्ति स्वतन्त्रतामाथि रोक लगाएको छ भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन दायर गर्नुभएको थियो ।

काठमाडौँ जिल्लाको सुरक्षालाई ध्यानमा राखेर जिल्ला सुरक्षा समितिले २०७४ चैत ३० गतेदेखि शीलत निवास, प्रधानमन्त्री निवास वालुवाटार, संसद् भवन, नयाँ बानेश्वर, सिंहदरबार, उपराष्ट्रपति निवास र काठमाडौँ महानगरपालिकाका विभिन्न स्थानमा सभा, जुलुस वा प्रर्दशन गर्न रोक लगाउने निर्णय गरेको थियो ।

सो स्थानको विकल्पमा सरकारले विरोध प्रदर्शनका लागि खुला मञ्च, तीनकुने खुला चौर, कोटेश्वर, भुइँखेल चौर, भगवान् पाउ, पेप्सीकोला खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर समाजकल्याण परिषद् अगाडिको खुला चौर र गौशालास्थित सिफल चौरलाई तोकेको थियो ।

कमेन्ट गर्नुहोस्