दुर्घटनामा नौ रोल्पालीको मृत्यु

रोल्पा ।  मुस्ताङमा भएको टिपर दुर्घटनामा परी रोल्पाका नौ मजदुरको मृत्यु भएको छ । मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणको काम गर्ने मजदूर बोकेको ना२ख २२१९ नंको टिपर दुर्घटनाग्रस्त हुँदा रोल्पालीसहित १५ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

मृत्यु हुने रोल्पालीमा थवाङ गाउँपालिका-१ रोल्पाका २८ वर्षीय सुकमान रोका, ३६ वर्षीय मौसम घर्ती, थवाङ-५ की ३१ वर्षीया जीतमाया घर्ती, २० वर्षीया सिर्जना रोका, २३ वर्षीय रास्त्रे रोका, २३ वर्षीया जीतकुमारी पुन र ११ वर्षीय महेश रोका छन् ।

याे पनि पढ्नुस  अाफ्नै भतिजा-भतिजीको हत्या गर्ने प्रहरी खोरमा

मृत्यु हुनेमा रोल्पा, सुनछहरी गाउँपालिका-१का ३२ वर्षीया सुन्तु घर्ती र ३२ वर्षीय राजकुमार पुन पनि रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो । रोजगारीको सिलसिलामा रोल्पाली मजदूर पोखरा, मुस्ताङलगायत क्षेत्रमा जाने गर्छन् । दुर्घटनामा परी एकै पटक यति ठूलो संख्यामा जिल्लावासीको मृत्यु भएको खबर सुन्नेबित्तिकै जिल्लामा सन्नाटा छाएको छ । -रासस

कमेन्ट गर्नुहोस्