एक लाख घूस रकमसहित इञ्जिनीयर पक्राउ

बाँके, असार २३ । जिल्लाको डुडुवा गाउँपालिकाका इञ्जिनीयर तेजराज खड्का एक लाख रुपैयाँ घूस लिएको अभियोगमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरको एक टोलीले गए राति नेपालगञ्जको बिपी चोकस्थित दङाली केसी मम सेन्टरबाट एक लाख रुपैयाँसहित इञ्जिनीयर खड्कालाई पक्राउ गरेको हो ।

गाउँपालिकाको वडा नं ६ हिरिमिनियास्थित माटो पटान तथा ग्राभेल सडक निर्माणको कार्यसम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग खड्काले घूस मागेको आयोगका निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार खड्कालाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु भएको छ । -रासस

कमेन्ट गर्नुहोस्