टिपर दुर्घटनाः २० जनाको शव पोखरा पठाइयो

पर्वत, असार २३ । मुस्ताङमा शुक्रबार भएको टिप्पर दुर्घटनामा ज्यान गुमाएका २० जनाको शव पोखरा पठाइएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत शनिबार बिहान दुर्घटनास्थल स्याङ्बोचेमा रहेका १५ र जिल्ला अस्पताल जोमसोममा रहेका पाँच शव पोखरा पठाइएको हो ।

दुर्घटनामा घाइतेको उद्धार गर्ने क्रममा शुक्रबार साँझ रात परेपछि १५ शव घटनास्थलमा नै छाड्नुपरेको थियो । दुर्घटनामा परी घाइते भएकामध्ये सात जनालाई शुक्रबार साँझ नै सेनाको एमआई सेभेन्टिन र एयर डाइनास्टिकको विमानबाट उपचारका लागि पोखरा लगिएको थियो ।

दुर्घटनामा घाइते भएकामध्ये पाँच जनाको भने जिल्ला अस्पताल मुस्ताङमा नै उपचार भइरहेको छ । दुर्घटनामा परी मृत्यु भएका र घाइते कोही पनि मुस्ताङका नभएका कारण जिल्ला सुरक्षा समिति मुस्ताङले सबै घाइते र शव पोखरा लाने निर्णय गरेको थियो । बेनीजोमसोम- कोरला सडकखण्डको दामोदरकुण्ड गाउँपालिका-३ स्थित स्याङ्बोचेमा कालीगण्डकी करिडोर निर्माणमा काम गरिरहेका कामदार बोकेको बा२क २२१९ नंको टिपर शुक्रबार अपराह्न २ बजे दुर्घटना भएको थियो । -रासस

कमेन्ट गर्नुहोस्