नेकपा बैठक: नियमावलीलाई अन्तिम रुप दिन तीन सदस्य कार्यदल गठन

काठमाडौं, असार २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नियमावलीलाई अन्तिम रुप दिन तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको सचिवालय बैठकले स्थायी समिति बैठकले दिएको सुझावको आधारमा नियमावलीलाई अन्तिम रुप दिन बामदेव गौतम, रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहेको तीन सदस्य कार्यदल गठन गरेको छ ।

कार्यदलले तीन दिनभित्र नियमावलीलाई अन्तिम रुप दिने कार्यादेश दिइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसअघि बिहीबार साँझ बसेको नेकपाको स्थायी समिति बैठकले नियमावलीको टुंगो लगाउने जिम्मा सचिवालयलाई दिएको थियो । समितिको बैठकमा नेताहरुले दिएको सुझावको आधारमा नियमावलीलाई अन्तिम रुप दिइन प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

कार्यदलले तयार पारेको नियमावलीलाई आगामी मंगलबार बस्ने सचिवालय बैठकले अनुमोदन गर्ने तयारी छ । अनुमोदन भए लगत्तै नियमालवली प्रकाशनका लागि पठाइने छ ।

आगामी मंगलबार पछिल्लो राजनीतिक घटनाक्रम र समसायिक विषयमा छलफल गर्न नेकपाको सचिवालय बैठक बोलाइएको छ ।

डा. गोविन्द केसीका माग र कांग्रेस सभापति शेरबहादुर देउवाले भदौं १४ गते यता गरेका राजनीतिक निर्णय खारेज गर्ने ओली सरकारको निर्णय विरुद्ध कांग्रेसले संदनमा अवरोध गरेको छ भने सड्क तताउने चेतावनी दिइरहेको छ ।

कमेन्ट गर्नुहोस्