६ घण्टा हिड्दा पनि पानी पाइदैन, ३८ घर विस्थापित !

रामेछाप, असार २४ । जिल्लाको मन्थली नगरपालिका वडा नं-७ स्थित भटौलीमा खानेपानीको समस्या भएपछि ३८ घरपरिवार विस्थापित भएका छन् । गाउँबाट एक ग्रागी पानी लिनको लागि दैनिक ६ घण्टा पैदल हिँडेर पनि पर्याप्त मात्रामा पानी नपाएपछि उनीहरुले गाउँ छाडेका हुन् ।

मन्थली नगरपालिका-७ स्थित पहरेपानी, पोखरी र टुनिबोटेका ३८ घर परिवार खानेपानीको समस्याको कारण गाउँ नै छाडेर स्थानीय भटौली खोला किनारमा बसाई सरेका हुन् । पहरेपानी, पोखरी र टुनिबोटे टोलमा रहेको ९० घरधुरी मध्ये ३८ घर परिवारले घरमा ताल्चा लगाएर खोला किनारमा बसोबास गर्न थालेका छन् । गाउँमा भएको खानेपानीको मुल सुकेपछि खानेपानीको चरम अभाव व्यहोर्दै आएका त्यस गाउँका अन्य घरपरिवार पनि विस्थापित हुने अवस्थामा रहेका छन् ।

बसाई सरेर बाँकी रहेका घरपरिवारका सदस्यहरुलाई अब बसाई कुन स्थानमा सर्ने हो भन्ने चिन्ताले सताएको स्थानीय शिवबहादुर कार्कीले बताए । खानेपानी समस्याकै कारण गाउँ छोडेर खोला किनारमा झरेका स्थानीयहरुलाई भने खोला किनारको बसाई पनि पिरलो बन्न थालेको छ । नयाँ पत्रिकामा खबर छ।

कमेन्ट गर्नुहोस्