विश्वकप फुटबलमा युरोपेली वर्चस्व, लगातार चौथो पटक उपाधि युरोपको पोल्टामा

मस्को । इतिहास जस्तोसुकै भएपनि ल्याटिन अमेरिकाको फुटबल विश्वकप दाबेदारी पछिल्ला केही शृंखलाहरू यता कम्जोर देखिंदै आएको छ। यसो हेर्दा विश्वकप फुटबलमा युरोपेली वर्चस्वको युग आएको जस्तो देखिन्छ।

यस पटक लगातार चौथो पल्ट विश्वकप फुटबल युरोपको कब्जामा जाने निश्चित भइसकेको छ।  यस अघि २००६ मा इटलीले, २०१० मा स्पेनले र २०१४ मा जर्मनीले विश्कप हात पारिसकेका छन्।

यस पटक पनि अन्तिम चारमा युरोपेली टोलीहरू मात्र बचेका छन् र ब्राजिल र उरुग्वेको बहिर्गमनसँगै गैर युरोपेली सम्भावना फेरि अर्को चार वर्षको लागि टरेको छ।

फ्रान्स, बेल्जियम, इङ्ल्याण्ड र क्रोएसियाले अन्तिम चारमा स्थान सुनिश्चित गरिसकेका छन्। यी मध्ये फ्रान्स र बेल्जियमले क्रमशस् उरुग्वे र ब्राजिललाई फर्काएका हुन्।

यसका साथै यस विश्वकपमा एकभन्दा बढी पटक विश्वकप विजेता रहेका टोलीहरू समेत पराजित भैसकेका छन्।

अन्तिम चारमा बाँकी टीममध्ये फ्रान्स र इङ्ल्याण्डले एक एक पटक विश्वकप जितिसकेका छन् भने बेल्जियम र क्रोएसियाले दोस्रो चोटि सेमी फाइनल खेल्दैछन्। फुटबल विश्वकप खेल्ने गैर संप्रभु राष्ट्र इङ्ल्याण्डले १९६६ मा र फ्रान्सले १९९८ मा विश्वकप जितिसकेका छन्।

यस पटक दुबैलाई यो उपलब्धि दोहोऱ्याउने मौका रहनेछ साथै यस अघि १९९८ मा तेस्रो स्थानमा चित्त बुझाउनु परेको क्रोएसिया र १९८६ मा चौथो स्थानमा रहेको बेल्जियमसँग पनि इतिहास बनाउने मौका रहनेछ।

चर्चाका हिसाबले सधैं दुई दक्षिण अमेरिकी टीम ब्राजील र अर्जेन्टिना सधैं अगाडि रहने गर्दछन्। २००६ पछि पहिलो पल्ट सेमीफाइनलमा मात्र युरोपेली टोलीहरू भिड्ने छन्।

त्यसबेला इटली, फ्रान्स, जर्मनी र पोर्चुगल सेमीफाइनलमा थिए। यस भन्दा अघिल्लो विश्वकपमा दुई युरोपेली टीम जर्मनी र हल्याण्ड र दूई दक्षिण अमेरिकी टोली अर्जेन्टिना र ब्राजिल सेमीफाइनलमा पुगेका थिए।

२०१० मा तीन युरोपेली टोली स्पेन, हल्याण्ड र जर्मनी तथा एक दक्षिण अमेरिकी टीम उरुग्वे सेमीफाइनलमा थिए।

रूसमा जारी विश्वकपमा खेलिराखेका ३२ मध्ये १४ टोली युरोपेली थिए। जसमध्ये १० टोली अन्तिम १६ मा पुगेका थिए।  त्यस्तै क्वाटर फाइनल खेल्ने आठमध्ये ६ टोली युरोपेली थिए।

१९८२ मा सेमी फाइनल राउण्ड पुनर्बहाली भएपछि हालसम्म ४० टोलीहरू अन्तिम चारमा पुगेका छन्। जसमध्ये ३१ युरोपका थिए।

यस बाहेकका टोलीमा आठ दक्षिण अमेरिकी र एसियाबाट एकमात्र दक्षिण कोरिया रहेको थियो। यसले फुटबलमा युरोपेली वर्चस्वबारे सहजै अनुमान लगाउन सकिन्छ।

कमेन्ट गर्नुहोस्