विश्वकपमा हारसँगै राजीनामा दिने क्रम रोकिएन, स्पेनका प्रशिक्षकले पनि पद छाडे !

मस्को । रुसमा जारी विश्वकप फुटबलमा हारसँगै राजीनामा दिने तथा संन्यास लिने क्रम जारी छ । हिजो साँझ मात्र पूर्व विजेता स्पेनका प्रशिक्षकले पनि पदबाट राजीनामा दिएका छन् ।
जारी विश्वकमा स्पेनको प्रशिक्षकको भूमिकामा रहेका फर्नान्डो हिइरोले पदबाट राजीनामा दिएका हुन्। स्पेन रुस विश्वकपमा अन्तिम १६ बाटै बाहिरिएको थियो । उसलाई घरेलु टोली रुसले अन्तिम १६ को खेलमा टाइब्रेकरमा निराश पारेको थियो ।

हिइरो विश्वकप सुरु हुनुभन्दा एक दिनअघि मात्रै स्पेनको प्रशिक्षकमा नियुक्त भएका थिए । त्यसअघि उनी स्पेनिस टिमको स्पोर्टिङ्ग डाइरेक्टर थिए । तत्कालीन प्रशिक्षक जुलियन लोपेतेगी बर्खास्त भएपछि हिइरोलाई स्पेनिस फुटबल फेडेरेशनले अस्थायी प्रशिक्षकका रुपमा नियुक्त गरेको थियो ।

सन् २०१० को विश्व विजेता स्पेन घर फर्किएपछि हिइरोले राजीनामा दिएका हुन् । ५० वर्षका हिइरो नयाँ सम्भावनाको खोजी गर्ने निर्णयमा पुगेको स्पेनिस फुटबल फेडेरेशन, आरएफइएफले जनाएको छ । रियल मड्रिडका पूर्व खेलाडी हिइरो आफ्नो पूर्व जिम्मेवारी, स्पोर्टिङ्ग डाइरेक्टरमा फर्किन नचाहेको आरएफइएफले जनाएको छ । उनी नयाँ व्यवसायिक चुनौती लिन तयार रहेको देखिएको छ । -एजेन्सी

कमेन्ट गर्नुहोस्