क्रोएसियाका प्रशिक्षक दाबी गर्छन्, ‘मेसी जस्तै ह्यारी केनलाई रोक्दै फाइनल पुग्छौं’

मस्को । क्रोएसियाका प्रशिक्षकले ज्लाट्को डालिकले इंग्ल्याण्डका कप्तान ह्यारी केनलाई पनि रोक्ने दाबी गरेका छन् । लियोनल मेस्सीको अर्जेन्टिनालाई पनि रोकेकाले केनको इंग्ल्याण्लाई पनि रोक्दै फाइनल पुग्ने क्रोएसियाका प्रशिक्षक डालिकले दाबी गरेका हुन् ।

आफ्नो टिमले मेस्सीलाई रोकेर यसअघि नै मनोबल उच्च बनाएकाले प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचिमा अघि रहेका केनको चुनौती पनि सामना गर्ने बताए । प्रशिक्षक डालिकले भने, ‘ सेमिफाइनलमा आफ्नो टिमका लागि इंग्ल्याण्डका केन र रहिम स्ट्रर्लिङ्ग स्पष्ट चुनौती हुन्, तर हामी इंग्ल्याण्डसँग डराएका छैनौँ ।’


रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा बुधबार राति क्रोएसियाले इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । क्वाटरफाइनलमा क्रोएसियाले आयोजक रुसलाई टाइब्रेकरमा हराएर अन्तिम चारमा स्थान बनाएको हो ।

यस्तै इंग्ल्याण्डले स्वीडेनलाई २-० ले हराउँदै पछिल्लो २८ वर्षमा पहिलो पटक विश्वकपको सेमिफाइनल खेल्न थालेको छ । क्रोएसियाले समूह चरणमा मेस्सीको टिम अर्जेन्टिनालाई ३-० ले हराएको थियो । त्यो खेलमा मेस्सीले गोल गर्न सकेका थिएनन् । -एजेन्सी

कमेन्ट गर्नुहोस्